अन्तर्वार्ता

‘मिनाहा हुन्छ भनेपछि लघुवित्तको साँवा–ब्याज कसले तिर्छ’

‘मिनाहा हुन्छ भनेपछि लघुवित्तको साँवा–ब्याज कसले तिर्छ’


काठमाडौं-राज्यको नीति साना उद्यम सिर्जना गर्नेमा हुनुपर्छ भन्ने मान्यतासहित नेपालमा लघुवित्तको परिकल्पना गरिएको थियो । वास्तविक गरिबीलाई शून्यमा झारेर जनताको जीवनस्तर उकास्न, साना उद्यम र उत्पादन वृद्धिका लागि लगानी गर्न, कृषि क्षेत्रको प्रोत्सान र उत्थान, महिला सशक्तिकरणदेखि वित्तीय साक्षरताजस्ता महत्वपुर्ण स्थानमा आफ्नो कार्य विस्तार गरिरहेका लघुवित्तहरु पछिल्लो समय किन समस्यामा परिरहेका छन ? लघुवित्तविरुद्ध देशब्यापी आन्दोलन किन भइरहेको छ ? यीनै विषयमा जाल्पा सामुदायीक लघुवित्त वित्तीय संस्थाका निर्देशक मनिष अर्यालसँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादीत अंश:
पुरा भिडियो

विगत दुई वर्षदेखि लघुवित्त क्षेत्र नै संकटमा पर्यो भन्ने सुन्दै आएका छौं । अहिले लघुवित्तको अवस्था के छ ?

अहिले लघुवित्तमा विभिन्न बाह्य समस्या भित्री समस्याहरु छन । देशमा आर्थिक मन्दीको विकराल अवस्था छ । त्यसले पनि लघुवित्तमा समस्या सिर्जना भयो । विगतमा बैंकिङ्ग प्रणालीमा तरलताको अभावका कारण पनि लघुवित्तमा समस्या सिर्जना भयो । लघुवित्त भनेको वित्तीय मध्यस्तकर्ताको रुपमा काम गर्ने संस्था हो । जसले बैंक तथा वित्तीय संस्थाबाट फण्ड लिएर दुर दराजमा रहेका गरिब किसान विपन्न वर्गलाई सानो–सानो रकमका कर्जा दिएर उनीहरुको जिवनस्तर सुधार्ने काम गर्दछ । बैंकिङ्ग प्रणलीमा नै तरलताको समस्या भएपछि लघुवित्तले पाउने फण्डको कष्ट पनि बढ्यो । हिजोको दिनमा ५ प्रतिशतमा पाउने फण्ड आज लघुवित्तले १०/१२ प्रतिशतमा फण्ड लिनुपर्ने अवस्था आयो । अनि लघुवित्तले सदस्यहरुलाई दिने भनेकोमा १५ प्रतिशतको क्याप छ । राष्ट्र बैंकले हामीहरुलाई १५ भन्दा बढि ब्याज लिन मनाही गरेको छ । त्यसो हुँदा हामीले बैंकबाट १२/१३ प्रतिशतमा बैंकबाट फण्ड लिने अनि १५ प्तिशतमा दिँदै गर्दा हाम्रो नाफा त एकदमै संकुचन भयो । लघुवित्तमा अर्को जुन समस्या भन्ने छ एक डेढ वर्ष अगाडि केही स्वार्थ समूहहरुले लघुवित्तहरुबाट लिएका कर्जाहरुको ब्याज, किस्ता भुक्तान गर्नुपर्दैन । लघुवित्तहरुबाट लिएको कर्जा सरकारले नै मिनाहा गर्दैछ भन्ने भ्रामक कुराहरु समाजमा फैलाएपछि समस्या भयो । हाम्रा ऋणी भनेको गाउँका मानिसहरु हुन । त्यसैले उहाँहरुलाई वित्तीय चेतना अलिकति कम छ । वित्तीय चेतना कम भएपछि स्वार्थ समूहहरुले भ्रममा पार्न सक्छन् । कोहि मानिसले तापाईले लघुवित्तहरुबाट लिएको ऋण सरकारले मिनाह गर्छ भनेपछि कसले ऋण तिर्छ ?

राष्ट्र बैंकले लघुवित्तको कर्जाको ब्याजदरमा १५ प्रतिशतको क्याप लगाएको छ । क्याप हट्यो भने लघुवित्तहरुलाई केही सहज हुने हो ?
क्याप हटाउँदा फेरी दुर दराजका सदस्यहरुबाट बढि ब्याज असुल्ने हो कि भन्ने पनि प्रश्न आउनसक्छ । तर हामीले लघुवित्तको अन्य देशलाई हेर्ने हो भने १५ प्रतिशत ब्याज धेरै होइन । जस्तै बंगलादेशमा हेर्ने हो भने १९ प्रतिशत ब्याजदर छ, भारतमा २०/२२ प्रतिशत छ । छिमेकी मुलुको अनुसार नै ब्याज लिनुपर्छ भनेर मैले भन्न खोजेको होइन । तर नेपाल राष्ट्र बैंकले लघुवित्तलाई १५ प्रतिशतको क्याप लगाउने हो भने लघुवित्तलाई बैंक तथा वित्तीय संस्थाबाट आउने ल्याण्डिङ्गबाट आउने फण्ड कि बेसरेटमा प्रदान गर्नुपर्यो कि ‘कष्ट अफ फण्ड’ मा केही प्रिमियम राखेर पुँजी उपलब्ध गराउनुपर्यो । त्यसो भयो भने हामी १५ किन १४ मा नै लगानी गर्न तयार छौं । हामीलाई १५ प्रतिशतको क्याप हटाउनुपर्छ भन्ने होइन । हामीलाई फण्डको कष्ट कम भयो भने हामी १५ हैन १० मै पनि लगानी गर्न तत्पर छौं ।

राष्ट्र बैंकको गत फागुन १० मा एक सर्कुलर जारी गर्यो । त्यो सर्कुलरले लघुवित्त क्षेत्रमा कस्तो प्रभाव पर्यो ?

नेपालको परिपेक्ष्यमा नियमहरु कसरी आउँछ भन्दै गर्दा एउटा भिडले सडक तताउँछ, सडक तात्यो भन्ने भएपछि नियामक निकायहरु तात्छन् । हो त्यही भिडले नियमहरु लेराएका हुनछन् । त्यही शिलशिलामा नेपाल राष्ट्र बैंकबाट पनि फागुन १० गते लघुवित्तलाई मध्यनजर गर्दै केही सर्कुलरहरु आए । त्यो सर्कूलरमा राष्ट्र बैंकले ल्याएको नियमले कालान्तरमा लघुवित्तलाई राम्रो नै गर्दछ । जुन समयमा यो नियम आयो त्यो समयमा झन् लघुवित्त र लघुवित्तका ऋणी तथा सदस्यहरुलाई बढि प्यानिक बनायो । जस्तै केन्द्रीय बैंकको एउटा नियम छ, एक ऋणी सदस्य एक लघुवित्त । तर अहिलेको अवस्थामा एक ऋणी सदस्यले ५ वटा लघुवित्तबाट ऋण लिएका छन् । एक जनाले ५ वटाबाट १५/१५ लाख गरेर ७५ लाख ऋण लिएको छ भोलि राष्ट्र बैंकले के नियम लेराउँछ ४ वटा लघुवित्तको ६० लाख तत्काल तिर अब एक वटा लघुवित्तबाट मात्रै ऋण लिन पाउँछौं भन्दै गर्दा ऋणीले कसरी ऋण तिर्छ ? जबकी उसको व्यवसाय राम्रो चलिरहेको छैन । त्यसो हुँदा यो नियम एकै पटक आउन हुँदैनथ्यो । क्रमिक रुपमा आएको भए क्रमिक रुपमा सुधार हुन्थ्यो ।

राष्ट्र बैंकको त्यो सर्कुलरले लघुवित्तको शेयर मूल्यमा पहिरो गयो भन्ने पनि सुनिन्छ यसमा तपाईको धारणा के छ ?

शेयर बजारमा लगानी गर्ने अथवा शेयर बजारका शेयर मूल्य घटबढ हुने भनेको भविष्यमा के हुँदैछ भन्ने अनुमानमा आजको शेयर बजार तल–माथि हुने हो । राष्ट्र बैंकको १० गते जुन सर्कुलरहरु आयो त्यसले के गर्यो भन्दा एउटा लघुवित्तको विजनेस घटाउने सर्कुलर आयो । त्यो बजारमा बसेका लगानीकर्ताले बुझे । हाम्रै संस्थाको कुरा गर्दा पहिला ३ हजार थियो भने अहिले १ हजारमा कायम भएको छ ।

अहिले लघुवित्तको विरोधमा एक व्यक्ति नभई समूह नै लागि परेका छन् । तपाईलाई के लाग्छ ?

लघुवित्तको विरुद्धमा धेरै समूह नै लागि रहेका छन् । लघुवित्त यस्तो संस्था हो जसले जोसुकैलाई पनि बिना धितो ऋण प्रदान गर्दछ । अहिले देश आर्थिक मन्दीमा छ । एक व्यक्तिले लघुवित्तबाट १ लाख ऋण लिएको छ । यति बेला उसलाई त्यो ऋणको ब्याज तिर्न धौं–धौं छ । उसले ब्याज भुक्तान नगर्दा फेरी त्यही १ लाख लगानी गरेका खेर त जाने हो । आज मानिसहरु हामीलाई लघुवित्तले अप्ठेरोमा पार्यो, लघुवित्तको ब्याज चर्को भयो, म लघुवित्तको पैसा तिर्दिन भन्दै सडकमा उर्फि्रनुको कारण पनि बिना धितो ऋण हो । आफ्नो राजनितीक एजेण्डा पुरा गर्नका लागि लघुवित्तलाई सहकारीलाई ‘टार्गेट’ गरेर विभिन्न मानिसहरुलाई ‘ब्रेन वास’ गरेर अगाडि बढेका छन् । फागुनबाट चर्को रुपमा आन्दोलन गर्दै छौं । यो हाम्रो आन्दोलन अन्तिम हुनेछ भन्ने हिसाबले अगाडि बढेका छन् । यसमा लघुवित्त भनेको राष्ट्र बैंकले नियमन गरेको संस्था हो । यदि लघुवित्तले नराम्रो काम गरेको हो भने राष्ट्र बैंकले हामीलाई कारवाही गरोस् । हामी राष्ट्र बैंकको कारवाही भोग्न तयार छौं किनभने हाम्रो नियामक निकाय राष्ट्र बैंक हो । तर कोहि मानिस सडकमा आएर लघुवित्तले यस्तो गर्यो भनेर भ्रामक कुरा फैल्याउँछन् र त्यो कुराको पछाडि लागेर जो मानिस हिड्नुहुन्छ उहाँको ऋण मिनाह हुनेवाला छैन ।

तपाईलाई के लाग्छ ? लघुवित्त संघर्ष समितीको माग जायज छन् ?

संघर्ष समितीको मागहरु सबै नाजायज मागहरु छैनन । कतिपय मागहरु जायज पनि छन् । कतिपय लघुवित्तले नयाँ ब्रान्च खोल्दै गर्दा त्यहाँ ब्रान्च टिकाउन अथवा लघुवित्तसँग फण्ड भएको बेलामा को मान्छेले के–को लागि कर्जा माग गरेको छ, लोनको सदुपयोग भएको छ कि छैन, केही पनि नहेरी कर्जा लगानी गरेर व्यवसाय बढाए । त्यसरी विजनेस बढाएको प्रतिफल पनि यही हो । लघवित्त संघर्ष समितीमा जस्ता मानिसहरुले जस्तो कुरा उठाएका छन, त्यसमा केही कुरा सत्य पनि छन । केही कुरा पिडितपक्षका आवाजहरु पनि छन । हामी जायज कुराको समर्थन गछौं । तर जसले ऋण लिनुभएको छ उहाँको ऋण मिनाह हुँदैन ।

के लघुवित्तले ऋणीहरुलाई दुःख दिएकै हो त ?

केही समय अगाडी लघुवित्तले गर्दा धेरै महिलाहरुलाई वित्तीय स्वतन्त्रमा दियो । दलित वर्ग जसको वित्तीय संस्थामा पहुँच पुग्दैनथ्यो उहाँहरुलाइेृ सानो सानो कर्जा दिएर आत्मनिर्भर बनायो । पछिल्लो समय फाइनान्सिय इफ्याक्ट पर्दै गर्दा बढि दोषारोपण लघुवित्तमा भएको हो । तर लघुवित्तले धेरैको घर सुधारेको छ, बनाएको छ, महिलालाई स्वावलम्बन बनाएको छ । केही लघुवित्तको केही नराम्रा कामको असर परेको होला तर अधिकांश लघुवित्तहरुले गाउँका महिलादेखि लिएर दुर–दराजका सदस्यलाई अत्यन्तै राम्रो वित्तीय सहयोग गरेको छ ।

लघुवित्तमा अहिले खराब कर्जा बढ्दै गर्दा हाल लघुवित्तहरु बिना धितो कर्जा भन्दा धितो कर्जामा प्रथामिकता दिएको पाइन्छ । तपाईलाई के लाग्छ ? लघुवित्त भनेको त विनाधितो सानो लघु उद्यम गर्नेहरुलाई कर्जा दिने संस्था होइन र ? यसरी त लघुवित्त आफ्नो उद्धेश्यबाट बिमुख भएन र ?

नेपाल राष्ट्र बैंकले नै लघुवित्तहरुलाई के सन्देश दिइरहेका छन् भन्दा बिनाधितो कर्जा दिँदै गर्दा त्यो कर्जा खराब कर्जामा परिणत हुनसक्ने अवस्था आएको छ । त्यसैले सकेसम्म तपाईहरुले धितो लिएर नै कर्जा दिनुस् । राष्ट्र बैंकसँग कुरा हुँदा अहिलेको विषम् परिस्थितीमा धितो कर्जामै लगानी गर्नुस् । तर यो संधैभर गर्ने होइन, किनभने लघुवित्तको उद्धेश्य भनेको नै प्रोजेक्टमा लगानी गर्ने हो । अहिलेको विषम परिस्थितीले गर्दा हामी हाम्रो उद्धेश्यबाट थोरै हटेर काम गरिरहका छौं ।

तपाईको विचारमा लघुवित्तहरु कहाँ चुके ?

अधिकांश लघुवित्तहरु चुके भन्दा पनि केही लघुवित्तले आफ्नो काम गर्दा कहिँ चुक्नुभयो होला । विभिन्न सदस्यहरुको गुनासो आउने गर्दछ । एउटा/दुईटा लघुवित्तले गल्ती गर्यो भन्दैमा ५७ वटै लघुवित्तलाई दोष लगाउन भएन नि ! ३६ लाख ऋणीहरु हुँदै गर्दा ५/६ हजार त गुनासो हुन्छ नै । ५/६ हजारको गुनासोलाई पनि हामीले सम्वोधन गर्दै अगाडि बढ्नुपर्दछ । तर ५/६ हजारले गुनासो गरे भन्दैमा लघुवित्त क्षेत्र नै खराब हो भन्न मिल्दैन ।

राष्ट्र बैंकसँग कुरा गर्दा लघुवित्त संस्थाको गल्तिले गर्दा समस्या सिर्जना भएको भन्ने जवाफ आयो । यता राष्ट्र बैंकले लघुवित्त संस्थाको गल्ति भन्ने, उता लघुवित्त राष्ट्र बैंकको गल्ति भन्ने, खासमा गल्ती चाहीँ कसको हो ?

राष्ट्र बैंकले भनेको कुरा पनि सहि नै हो । ५७ वटा लघुवित्त मध्ये ५६ वटाले राम्रो काम गरे तर एउटा संस्थाले नराम्रो काम गरे भन्दै गर्दा लघुवित्तले नराम्रो काम गरे भन्न पाइन्छ । तर समस्यालाई त्यसरी छोड्न हुँदैन । लघुवित्तको नराम्रो काम रोक्दै जानुपर्छ । आजको भोलि समस्याको समाधान हुन्छ भन्ने छैन । लघुवित्तबाट कमजोरी भएको छ भने क्रमिक रुपमा सुधार हुँदै जान्छ ।

तपाईको विचारमा अब लघुवित्त क्षेत्र सुधारका लागि राष्ट्र बैंकले के कस्तो कदम चाल्नुपर्ला ?

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई पनि अन्य वर्गका बैंक वित्तीय संस्थालाई झैं नियमन गर्नुपर्छ । जुन हिसाबले वाणिज्य बैंक, डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनीलाई नियमन गर्नुभएको छ, त्यसरी नै लघुवित्त संस्थाहरुलाई नियमन गर्नुपर्छ । अर्को अर्थमन्त्रीले बजेटमै पनि ५ खर्बको एउटा फण्ड निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यो फण्डले लघुवित्तहरुको तरलताको समस्यालाई सम्बोधन गर्छ भनेर भनिएको थियो । त्यसले समस्यालाई सम्बोधन गर्दछ भन्ने कुरा गर्दा हामी उत्साहित भएका थियौं । तर फण्ड निमार्ण गर्ने काम अझै अगाडि बढेको छैन । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई बैंक वित्त संस्था मान्नुहुन्छ भने अब लघुवित्त संस्थालाई पनि जनताको बचत संकलनको अधिकार दिनुपर्दछ ।

पछिल्लो लघुवित्त बहस