गेमिङ आईडीमा क्वाइन थपेर करोडौँको साइबर जाल सञ्चालन गर्ने ६ जना पक्राउ


काठमाडौं – भारतको गुरु ग्राम प्रहरीले अनलाइन गेमिङ तथा बेटिङ प्लेटफर्ममार्फत सर्वसाधारणलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले दिल्लीको जनकपुरीस्थित एक फ्ल्याटमा छापा मारेर गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार आरोपीले विभिन्न अनलाइन गेमिङ र बेटिङ प्लेटफर्मको प्रयोग गरी प्रयोगकर्ताबाट क्युआर कोडमार्फत रकम असुल्ने र त्यसबापत गेमिङ आईडीमा क्वाइन तथा पोइन्ट थप्ने कार्य गर्दै आएका थिए। यसरी सञ्चालन गरिएको नेटवर्कमार्फत ठुलो परिमाणमा आर्थिक कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय प्रहरीले जनाएको छ।

छापा मार्ने क्रममा प्रहरीले ३१ थान मोबाइल फोन, ९ थान ल्यापटप, ९ वटा एटिएम कार्ड, ४३ वटा सिम कार्ड, विभिन्न बैंक खातासम्बन्धी चेक बुक र पास बुक तथा अन्य बैंकिङ्ग कागजात बरामद गरेको छ। साथै, ३ वटा कार्ड स्वाइप मेसिन पनि फेला परेको जनाइएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले बैंक खाता, सिम कार्ड तथा क्युआर कोडहरू प्रयोग गरी अवैध आर्थिक कारोबार सञ्चालन गरेको खुलासा भएको छ। उनीहरूलाई आवश्यक सामग्री विभिन्न माध्यमबाट उपलब्ध गराइने गरेको र त्यसका लागि कमिसनसमेत पाउने गरेको प्रहरीको दाबी छ।

गुरु ग्राम प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा नेटवर्कको मुख्य योजनाकारसम्म पुग्न अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। साथै, साइबर ठगीबाट प्रभावित भएका सम्भावित पीडितहरूको विवरण संकलन गर्ने काम पनि जारी रहेको बताइएको छ।