राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा ११३ प्रतिशतको वृद्धि, कुनले कति कमाए ?


काठमाडौं – राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यी बैंकहरूको कुल खुद नाफा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको समग्र नाफा ११३.२३ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा मुक्तिनाथ, कामना सेवा, ज्योति र महालक्ष्मी विकास बैंकको नाफा बढेको छ भने गरिमा, शाइन रेसुङ्गा र सांग्रिला डेभलपमेन्ट बैंकको घटेको छ। नाफा वृद्धिका आधारमा समीक्षा अवधिमा लुम्बिनी विकास बैंकले सबै बैंकलाई उछिनेको छ। बैंकले असोज मसान्तसम्म ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, नाफाका आधारमा मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा रहेको छ। बैंकले समीक्षा अवधिमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ।

कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दा ज्योति विकास बैंकको नाफा २० करोड १ लाख ६१ हजार रुपैयाँ पुगेको छ। यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य गिरावट आएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। महालक्ष्मी विकास बैंकले समीक्षा अवधिमा ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने उल्लेख्य संकुचन आएको छ। बैंकको खुद नाफा ६२.०७ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ।