प्रधानमन्त्री शाहको भारत भ्रमणमा १४ महत्वपूर्ण परियोजना र सम्झौतामा सहमति

रेल सेवा सञ्चालनदेखि जलविद्युत्, पेट्रोलियम पाइपलाइन र सीमा पूर्वाधारसम्म सहकार्य विस्तारस प्रहरी, प्रशासन, स्वास्थ्य, शिक्षा र प्रविधिमा पनि समझदारी


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच पूर्वाधार विकास, ऊर्जा, पारवहन, सुरक्षा, स्वास्थ्य, शिक्षा तथा प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी महत्वपूर्ण परियोजना तथा सम्झौताहरू भएका छन्। भ्रमणका क्रममा ६ वटा विकास परियोजनाको उद्घाटन, शिलान्यास तथा हस्तान्तरणसम्बन्धी कार्यक्रम अघि बढाइएको छ भने विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ८ वटा समझदारीपत्र (एमओयू) भएका छन्। भ्रमणका क्रममा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने रेल सेवादेखि अन्तरदेशीय सडक पुल, एकीकृत जाँच चौकी, जलविद्युत् आयोजना र पेट्रोलियम पूर्वाधारसम्मका परियोजनाले प्राथमिकता पाएका छन्।

रेल सेवा र सीमा पूर्वाधारमा नयाँ पहल
नेपाल र भारतबीच अयोध्या र जनकपुरलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा सञ्चालनको सुरुवात गरिएको छ। यसले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। त्यसैगरी, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी ९आईसीपी० निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिलाई पनि भ्रमणका क्रममा समेटिएको छ। यी पूर्वाधारले सीमापार व्यापार, आयात–निर्यात तथा आवागमनलाई सहज बनाउने अपेक्षा छ। भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ अन्तरदेशीय मोटर चल्ने पुलको पनि उद्घाटन गरिएको छ। यसले सीमावर्ती क्षेत्रका बासिन्दाको आवागमन र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

६६९ मेगावाटको तल्लो अरुणदेखि पेट्रोलियम पूर्वाधारसम्म
ऊर्जा क्षेत्रतर्फ ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। यो आयोजना नेपालको जलविद्युत् उत्पादन र भारतसँगको ऊर्जा सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ। यसैगरी, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण गरिएको छ। यसले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई थप व्यवस्थित र सहज बनाउन सहयोग गर्ने अपेक्षा छ। भारतको सिलिगुडीदेखि झापासम्म प्रस्तावित पेट्रोलियम पाइपलाइनअन्तर्गत झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि पनि शिलान्यास गरिएको छ। यी परियोजनाले नेपालको इन्धन आपूर्ति पूर्वाधार विस्तार र ढुवानी लागत न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्नेछन्।

प्रहरी र प्रशासनिक क्षमता अभिवृद्धिमा समझदारी
भ्रमणका क्रममा नेपाल र भारतबीच सुरक्षा तथा प्रशासनिक क्षेत्रमा पनि महत्वपूर्ण समझदारी भएका छन्। भारतको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यसैगरी, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (राष्ट्रिय रक्षा विश्वविद्यालय–आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य गर्ने समझदारी भएको छ। यसले प्रहरी जनशक्तिको क्षमता अभिवृद्धि, तालिम तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता विकास तथा तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ।

स्वास्थ्य, आयुर्वेद र पशुपालनमा सहकार्य
स्वास्थ्य क्षेत्रमा नेपाल र भारतबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सहकार्यसम्बन्धी समझदारी भएको छ। त्यस्तै, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको विकास र प्रवर्द्धनमा सहकार्य गर्ने सहमति पनि भएको छ। पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा समेत दुवै देशबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसले पशु स्वास्थ्य, उत्पादन, प्रविधि हस्तान्तरण तथा मत्स्य क्षेत्रको विकासमा सहकार्यको आधार तयार गर्ने अपेक्षा छ।

स्याटेलाइट सञ्चारदेखि दिगो सहरी विकाससम्म
प्रविधि र पूर्वाधार विकासतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ। यसबाट नेपालमा सञ्चार पहुँच विस्तार, दूरदराजका क्षेत्रमा सञ्चार सेवा विस्तार तथा प्रविधिको उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने समझदारी पनि भएको छ। यसले सहरी पूर्वाधार, योजनाबद्ध सहरीकरण र दिगो विकासका क्षेत्रमा दुई देशबीच ज्ञान तथा प्रविधि आदानप्रदानको अवसर सिर्जना गर्नेछ।प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी परियोजना तथा समझदारीले नेपाल–भारत सम्बन्धलाई परम्परागत कूटनीतिक तथा व्यापारिक दायराबाट विस्तार गर्दै ऊर्जा, पूर्वाधार, सुरक्षा, प्रविधि र मानव संसाधन विकाससम्म पुर्‍याउने संकेत गरेका छन्।