काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेटा गाउँपालिका, बारामा रोजगार संयोजक पदमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद प्राप्त गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
आयोगका अनुसार गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा नियुक्ति हुनका लागि पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको हो। गिरीले २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पदमा नियुक्ति पाउन उक्त शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण भई आएको विवरणमा गिरीले पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र उनको नभई अन्य व्यक्तिको रहेको पुष्टि भएको आयोगले जनाएको छ। आफ्नो शैक्षिक योग्यता ढाँटी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको देखिएकाले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार कैद तथा जरिवानाको सजाय मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।





About Us
प्रतिक्रिया