प्रभु बैंकका चार कर्मचारीमाथि कारबाही, पूर्व सीबीओ पन्त र रेमिट्यान्स प्रमुख शाक्य बर्खास्त


काठमाडौं – प्रभु बैंक लिमिटेडले तत्कालीन चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त र रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ। बैंकले पन्त र शाक्यसँगै अन्य दुई कर्मचारीमाथि पनि विभागीय कारबाही गरेको हाे।

बैंकले विभागीय कारबाही गर्दै मधुसुधन न्यौपानेको दुई वर्षका लागि बढुवा रोक्का गरेको छ भने सुदीप श्रेष्ठलाई एक तह घटुवा गरेको छ। बैंकले कर्मचारी सेवा विनियमावली, २०७८ को अध्याय ८३ अन्तर्गत उनीहरूमाथि कारबाही गरेको जनाएको छ।

बैंकअनुसार शाक्य र पन्तलाई २०८३ कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको हो। त्यस्तै, न्यौपानेको बढुवा २०८३ कात्तिक १९ गतेदेखि लागू हुने गरी दुई वर्षका लागि रोक्का गरिएको बैंकले जनाएकाे छ। श्रेष्ठलाई २०८३ मंसिर १ गतेदेखि लागू हुने गरी सहायक पदबाट कनिष्ठ सहायक पदमा घटुवा गरिएको हाे।

बैंकको निर्णयअनुसार प्रभु ग्रुप इंकले रेमिट्यान्स कारोबारसँग सम्बन्धित स्ट्यान्डबाइ लेटर अफ क्रेडिट तथा वित्तीय प्रत्याभूतिसम्बन्धी कागजात पेस गर्दा बैंकिङ्ग सतर्कतासम्बन्धी मापदण्ड पालना नगरेको आरोपमा शाक्यलाई बर्खास्त गरिएको हो। त्यस्तै, रश्मी पन्तलाई एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा सुविधा प्रवाह गर्दा आवश्यक कानुनी कागजात प्राप्त नगरेको तथा धितोसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा सेवाबाट हटाइएको बैंकले जनाएको छ।