बैंकबाट ऋण लिनेले जान्नैपर्ने यी पाँच विषय


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेले जान्नैपर्ने ५ विषयमा स्पष्ट पारेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै कर्जा लिनेले जान्नुपर्ने विषयमा स्पष्ट पारेको हो।

राष्ट्र बैंकले कर्जा लिनुअघि त्यसको उद्देश्य, ब्याजदर, भुक्तानी क्षमता र सम्भावित जोखिमबारे स्पष्ट हुन सर्वसाधारणलाई आग्रह गरेको छ। अनावश्यक ऋण नलिन र ऋण लिनुअघि आफ्नो आम्दानी तथा सम्पत्तिमा पर्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। बैंकले कर्जा लिनुअघि ऋण र आम्दानीको अनुपात समीक्षा गर्नुपर्नेमा जोड दिएको छ। पहिले लिएको ऋण वा डुबेको खर्च व्यवस्थापन गर्न थप ऋण लिँदा अत्यधिक ऋणको जोखिम बढ्न सक्ने भएकाले वैकल्पिक उपायबारे जानकारी लिएर मात्र निर्णय गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, कर्जा छनोट गर्दा ब्याजदर, सेवा शुल्क, प्रक्रिया, अवधि र अन्य सर्तहरू तुलना गर्नुपर्ने बैंकको सुझाव छ। ब्याजदर र शुल्कसमेत जोडेर वार्षिक लागत गणना गर्न तथा स्थिर र परिवर्तनीय ब्याजदरबीचको भिन्नता बुझ्न पनि आग्रह गरिएको छ। आधार दर र प्रिमियममा हुने परिवर्तनले ब्याजदर प्रभावित हुन सक्ने भएकाले यसबारे जानकारी राख्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।