झापाको घटनापछि बैंकहरुमा राष्ट्र बैंकले थाल्यो ‘सरप्राइज’ छड्के

कर्मचारीलाई ओभरटाइमा लगाए व्यवस्थापनले स्पष्टीकरण दिनुपर्ने 


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा आबद्ध कर्मचारीहरूलाई अनावश्यक प्रेसर’ र ‘ओभरटाइम’ बारे बुझ्न ‘सरप्राइज’ छड्के चेकजाँच सुरु गरेको छ। केन्द्रीय बैंकले ग्लोबल आईएमई बैंकको झापाका कर्मचारी पीताम्बर खड्काले आत्महत्या गरेपछि ‘ओभरटाइम’ बारे बुझ्न ‘सरप्राइज’ छड्के चेकजाँच सुरु गरेको हो।

एक बैंकका सञ्चालकका अनुसार बिहान तथा बेलुका कार्यालय समयपछि ‘ओभरटाइम’ काममा लगाएको नलगाएको बारे चेकजाँच सुरु गरेको बताए। बैंकहरुलाई केन्द्रीय बैंकले एक सर्कुलर नै जारी गरेर समेत अतिरिक्त समय काममा लगाउन नपाउने तथा लगाए अतिरिक्त कामको पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने बताएको छ। 

अहिले बैंकका कर्मचारीले वार्षिक रूपमा १५५ बिदा पाउँदै आएका छन्। बैंकका कर्मचारीलाई आवश्यकताअनुसार अतिरिक्त काममा लगाउन नपाइने व्यवस्थाप्रति आक्रोश व्यक्त गर्दै ती सञ्चालकले भने, ‘हप्तामा २ दिन बिदाको दरले वर्षमा १०४ दिन, ३६ चाडपर्व बिदा र १५ दिन फोर्स लिभ हुन्छ । वर्षमा १५५ दिन बिदा दिने हो र अरू दिनमा पनि आवश्यकता हेरेर बढी काम लगाउन नपाइने हो भने हामीले कर्मचारीलाई कसरी काममा लगाउने ?’ 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बढी समय काम गर्नुपरेको गुनासो गर्दै आएका थिए। केन्द्रीय बैंकले बैंकका कर्मचारीको गुनासोलाई सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी काममा लगाउनु पर्ने बताएको हो। केन्द्रीय बैंकले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने बताएको हो। बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने समेत उल्लेख गरेको छ। 

यता, बैंकका अर्का सञ्चालक पनि बैंक तथा वित्तीय संस्था परिसंघ ‘सिविफिन’ र नेपाल बैंकर्स संघ ‘एनबीए’ र डेभलपमेन्ट बैंकर्स एशोसिएशन ‘डिवान’ लाई यस विषयमा बोल्न अनुरोध गर्दा सबै संगठनले मुख नै नखोलेको गुनासो गरे। केन्द्रीय बैंकले कर्मचारीहरूलाई ओभरटाइमा लगाए व्यवस्थापनले स्पष्टीकरण दिनुपर्ने समेत बताएको छ। राष्ट्र बैंकले छड्के चेकजाँच नै सुरु गरेपछि बैंकका सञ्चालक र व्यवस्थापन तनावमा फस्न थालेका छन्।