दीपक भट्टसँग जोडिएका ५६ व्यवसायीको शेयर रोक्का गर्न सेबोनलाई सीआईबीको पत्र


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको शेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको छ। सीआईबीले बोर्डलाई पत्र लेख्दै भट्टसँग सम्बन्धित कम्पनीका शेयरधनीहरूको सम्पत्ति रोक्का राख्न तथा उनीहरूको धितोपत्र लगानीसम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

ब्युरोले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत भइरहेको अनुसन्धानका क्रममा आवश्यक विवरण सङ्कलन गर्न उक्त पत्राचार गरिएको जनाएको छ।

सीआईबीको पत्रमा उल्लेख छ, ‘नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी दीपक भट्टसमेत भएको धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानको सिलसिलामा निम्नलिखित नाम, थर, वतन भएका प्रतिवादीहरूको नाममा धितोपत्र बजारमा भएको लगानीसम्बन्धी विवरण आवश्यक परेकाले उल्लेखित विवरण यस ब्युरोको इमेल ठेगानामा खुलाई पठाई रोक्कासमेत राखी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन अनुरोध छ।’ 

सीआईबीले हिमालय रि–इन्स्योरेन्सकी सीईओ उपसना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, नेपाल माईक्रो इन्स्योरेन्स सञ्चालक लतिका गोल्याण, नेपाल माईक्रो इन्स्योरेन्सका सञ्चालक बद्री सिग्देल लगायतका ५६ व्यवसायीको शेयर रोक्का गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको हो।