मंसिरमा पनि घट्यो बैंकको ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?

'मंसिरका लागि ब्याजदर बढाउने बैंकको संख्या शुन्य'


काठमाडौं – वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। मंसिर महिनाका लागि ब्याजदर घटाउने बैंकको संख्या ६ रहेको छ भने १४ वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। मंसिर १ गतेदेखि लागू हुने नयाँ दरअनुसार वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ३.८७ प्रतिशतमा झरेको छ।

मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैतर्फ सबैभन्दा धेरै ब्याज दिने बैंक सानिमा बैंक रहेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ कात्तिककै दरलाई निरन्तरता दिँदै अधिकतम ४.५ प्रतिशत ब्याजदर तोकेको छ। यस्तै, एनएमबि बैंक र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने बैंकमा कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले भने मंसिरमा पनि कात्तिक महिनाकै ब्याजदर कायम राखेका छन्। मंसिरका लागि ६ वटा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने संस्थागततर्फ एनएमबि बैंकले मात्र दर घटाएको छ। एनएमबिले यसअघि रहेको ३.५० प्रतिशतको न्यूनतम दरलाई ०.२५ प्रतिशत विन्दुले घटाएर ३.२५ प्रतिशतमा झारेको हो।

त्यस्तै, कृषि विकास बैंकले ४.१५ बाट ३.६५ प्रतिशत कायम गरेको छ। लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत बिन्दुले घटाएर ४ बाट ३.७५ प्रतिशत, कुमारी बैंकले व्यक्तिगततर्फ ०.०९ प्रतिशत बिन्दुले घटाएर ३.७ बाट ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.७ बाट ३.६५ प्रतिशत कायम गरेको छ। मंसिरमा सबैभन्दा धेरै ब्याजदर घटाउनेमा माछापुच्छ्रे बैंक रहेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ।

Skip This