सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन


काठमाडौं – सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्। माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन्। उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धन र लगानीमा संलग्न छन्।

पर्यटन समितिको संयोजक चयन भएपछि ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्। सगरमाथाको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जङ्गल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाले दक्षिण एसियामा पर्यटनको अपार सम्भावना रहेको उनको भनाइ छ।

विश्वको करिब एक चौथाइ जनसङ्ख्याको बसोबास रहेको दक्षिण एसिया आफैँमा विशाल आन्तरिक पर्यटन बजार भएको उल्लेख गर्दै उनले यस सम्भावनालाई व्यवहारमा उतार्न समग्र सार्क क्षेत्रमा पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार आवश्यक रहेको बताएका छन्। यस क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै ढकालले अन्तरदेशीय लगानी विस्तारले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई समेत सहयोग पुग्ने बताए।

नेपालको सन्दर्भमा सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनलाई यहाँको पर्यटन पूर्वाधारमा आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय स्तरमा विस्तार गर्न सकिने उनको भनाइ छ। क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणासहित अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याएका छन्। विभिन्न देशका पर्यटकीय गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउन सकिने उनको धारणा छ।

क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै ढकालले सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्नुपर्ने बताएका छन्। यसबाट पर्यटक, व्यवसायी तथा लगानीकर्ताको आवागमन सहज र तीव्र हुने उनको विश्वास छ।

नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्कका प्रमुख पर्यटकीय गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनले बताएका छन्। यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चले पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।