दसैं तिहारमा अपराधको बिगबिगी : १ हजार ८९२ पक्राउ, १ हजार ८४८ मुद्दा दर्ता

'घर खाली भएको मौका छोपेर चोरीदेखि अनलाइन ठगी र लागूऔषध कारोबारसम्म, गत वर्षको तुलनामा पक्राउ पर्नेको संख्या दोब्बरभन्दा बढी'


काठमाडौं – नेपालीका ठुला चाड दसैं र तिहार परिवारसँग रमाइलो गरी मनाउने अवसर हुन्। तर, यही समय अपराधमा संलग्न समूहका लागि पनि कमाउने मौका बन्ने गरेको छ। मानिसहरू घर छाडेर गाउँ जाने, बजारमा किनमेलको भीड बढ्ने र आर्थिक कारोबार तीव्र हुने मौका छोपेर चोरी, ठगी, लुटपाट, जुवा तास तथा लागूऔषध कारोबारजस्ता गतिविधि बढ्ने गरेका छन्। यस वर्षको दसैं र तिहार अवधिमा देशभरबाट १ हजार ८९२ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार दसैं अवधिमा १ हजार ३२७ र तिहारमा ५६५ जना पक्राउ परेका हुन्। यी दुई चाडपर्वमा गरी १ हजार ८४८ मुद्दा दर्ता भएका छन्। दसैंमा १ हजार ४२२ र तिहारमा ४२६ मुद्दा दर्ता भएका हुन्।

गत वर्षको दसैंमा ८०१ जना पक्राउ परेका थिए भने ९६० मुद्दा दर्ता भएका थिए। यस वर्ष दसैंमा पक्राउ पर्नेको संख्या गत वर्षको तुलनामा उल्लेख्य बढेको छ। तिहारमा पनि गत वर्ष ३१५ मुद्दा दर्ता भएकामा यस वर्ष ४२६ पुगेका छन्। यसले चाडपर्वको समयमा आपराधिक गतिविधि र प्रहरी कारबाही दुवै बढेको देखाउँछ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार दसैंमा किनमेल र आर्थिक कारोबार बढ्ने भएकाले अपराधमा संलग्न व्यक्तिले यही अवस्थाको फाइदा उठाउने गरेका छन्। सर्वसाधारणले किनमेलका लागि ठुलो रकम बोकेर हिँड्ने, नगद कारोबार बढ्ने र घरहरू लामो समय खाली रहने भएकाले चोरी, ठगी तथा लुटपाटको जोखिम बढ्ने उनी बताउँछन्।

घर खाली, चोर सक्रियः कलंकीका दुई घरमा चोरी
चाडपर्वमा घरधनी गाउँ गएको मौका छोपेर काठमाडौंको कलंकी क्षेत्रमा रहेका दुई घरमा चोरी भयो। घर सुनसान रहेको अवसर पारेर ढोकाको ताला फोडी नगद, सुनचाँदीका गरगहनासहित विभिन्न धनमाल चोरी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकहरूको समूहलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ०८३ कात्तिक ४ गते राति काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित तासिङडोल मार्गमा पहिलो चोरी भएको थियो। किसन सिंह बस्नेतको घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएकी उर्मिला भन्ने सीता थपलियाको फ्ल्याट खाली रहेको मौका छोपेर चोरहरूले ढोकाको ताला फोडेका थिए। घरभित्र प्रवेश गरी उनीहरूले नगद, सुन तथा चाँदीका गरगहनालगायतका सामान चोरेका थिए।

पहिलो घटना भएको दुई दिन नबित्दै कलंकीकै रञ्जित कोलोनीमा अर्को चोरी भयो। कात्तिक ५ गते राति ११ः३० बजेदेखि कात्तिक ६ गते बिहान ३ बजेसम्मको अवधिमा निरञ्जन नेपालको घरको ताला फोडेर नगद तथा सुनचाँदीका गरगहना चोरी गरिएको थियो। दुवै घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले भारतका विकास पोदार, छिविल्ला, राजु कुमार भन्ने राजु पोदार, लल्लु पोदार, राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र विणा देवीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट सुनका सिक्री, बाला, औंठी, लकेटका टुक्रा, कछुवाको मूर्ति, सिक्का र सरस्वतीको मूर्तिसमेत बरामद भएको छ। त्यस्तै, चाँदीका सिन्दुरदानी, गणेश र लक्ष्मीका मूर्ति, पाउजु, सिरबन्दी, औंठी, सिक्का तथा ब्रेसलेटलगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ।

तिहारमा पनि घर खाली पारेर चोरी, सुन किन्ने र बेच्न सघाउनेसमेत पक्राउ
दसैंमा जस्तै तिहारमा पनि घर खाली भएको मौका छोपेर चोरी गर्ने समूह सक्रिय देखियो। ललितपुरको टिकाथलीमा भाडामा बस्ने व्यक्तिहरूको कोठा फोडेर सुनचाँदीका गरगहना, ल्यापटप र नगद चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ कात्तिक २४ गते राति करिब १२ः२० बजे महालक्ष्मी नगरपालिका–५, टिकाथलीस्थित घरमा भाडामा बस्दै आएका सशान्त साह र तेजेन्द्र कुमार चौधरीको कोठामा कोही नभएको मौका छोपेर चोरहरू प्रवेश गरेका थिए। ढोकाको ताला फोडेर उनीहरूले कोठाभित्र रहेका सुनचाँदीका गरगहना, ल्यापटप तथा नगद चोरी गरेका थिए।

पक्राउ पर्नेमा महोत्तरीका बिटु भन्ने प्रमोद कुमार यादव, भारतका करन गिरी र स्टार भन्ने गोकुल गिरी रहेका छन्। उनीहरू घरमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ। चोरीको सुन खरिद गरेको आरोपमा सुनसरीका अनुराग सोनी साह र चोरीको सुन बिक्री गर्न सहयोग गरेको आरोपमा दोलखाकी अनिता चौधरी खड्का पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट एक थान सुनको लकेट, चाँदीजस्तो देखिने दुई थान औंठी, एक थान चाँदीको सिक्री र एक थान चाँदीको ब्रेसलेट बरामद गरेको छ । घरको ताला फोड्न प्रयोग गरिएको एक थान फलामको रडसमेत बरामद भएको प्रहरीले जनाएको छ।

उपत्यकादेखि सुदूरपश्चिमसम्म पक्राउ
दसैं अवधिमा सबैभन्दा धेरै पक्राउ मधेश प्रदेशबाट भएका छन्। प्रहरीको तथ्यांकअनुसार मधेशबाट २८९ जना पक्राउ परेका छन्। त्यसपछि काठमाडौं उपत्यकाबाट २३०, कोशी प्रदेशबाट २०४, लुम्बिनीबाट २०३, सुदूरपश्चिमबाट १४६, बागमतीबाट १००, गण्डकीबाट ९१ र कर्णालीबाट ६० जना पक्राउ परेका छन्। प्रहरीका विभिन्न ब्युरोबाट चारजना पक्राउ परेका थिए। तिहार अवधिमा भने लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै १०५ जना पक्राउ परेका छन्। मधेशबाट ८४, काठमाडौं उपत्यकाबाट ८९, सुदूरपश्चिमबाट ६४, कोशीबाट ५५, बागमतीबाट ३७, गण्डकीबाट ३३ र कर्णालीबाट ९५ जना पक्राउ परेका छन्। विभिन्न ब्युरोबाट तीनजना पक्राउ परेका थिए।

दसैं अवधिमा चोरीसम्बन्धी १५८, चेक अनादरसम्बन्धी १०८, आर्थिक अपराधसम्बन्धी ३९ र लिखतसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका थिए। तिहारमा भने प्रहरीका विभिन्न कार्यालय तथा प्रदेशबाट गरी ४२६ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ८४, कोशीमा ६९, मधेशमा ८९, बागमतीमा ४३, गण्डकीमा २१, लुम्बिनीमा ५४, कर्णालीमा २५ र सुदूरपश्चिममा ३८ वटा उजुरी परेका छन्। विभिन्न ब्युरोमा तीनवटा उजुरी दर्ता भएका थिए। तिहारमा दर्ता भएका उजुरीमध्ये जुवासम्बन्धी ५० र चोरीसम्बन्धी ४० वटा छन्। त्यस्तै, बैंकिङ्ग कसुरका सात, ठगीका तीन, अभौतिकसम्बन्धी एक र खोटा मुद्रासम्बन्धी एकवटा उजुरी परेका छन्।

लागूऔषध कारोबार पनि उत्तिकै चुनौती
चाडपर्वका बेला चोरी र ठगीसँगै लागूऔषधको कारोबार, ओसारपसार तथा प्रयोग पनि प्रहरीका लागि अर्को चुनौती बनेको छ। यस वर्षको दसैं अवधिमा देशभरबाट २३९ जना लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। तिहारमा थप ४४ जना पक्राउ परेका छन्। दसैंमा लागूऔषध नियन्त्रण ब्युरोबाट तीन, काठमाडौं उपत्यकाबाट ४७, कोशीबाट ३८, मधेशबाट २४, बागमतीबाट २६, गण्डकीबाट १२, लुम्बिनीबाट ३९, कर्णालीबाट १८ र सुदूरपश्चिमबाट ३२ जना पक्राउ परेका थिए।

प्रहरीले दसैं अवधिमा ठूलो परिमाणमा लागूऔषधसमेत बरामद गरेको छ। बरामद लागूऔषधमा गाँजा २ हजार ८७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करिब ३६ किलो, अफिम एक किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन एक किलो ७७ ग्राम ९१९ मिलिग्राम र कोकिन २७ ग्राम ६७८ मिलिग्राम छन्। यसबाहेक विभिन्न प्रकारका नियन्त्रित लागूऔषध पनि बरामद गरिएको प्रहरीले जनाएको छ। तिहार अवधिमा लागूऔषध उत्पादन, सञ्चय, कारोबार, ओसारपसार तथा बिक्रीवितरणसम्बन्धी ४४ वटा उजुरी परेको प्रहरीको तथ्यांक छ।

किन बढ्छन् चाडपर्वमा अपराध ?
चाडपर्वमा अपराध बढ्नुको एउटा प्रमुख कारण मानिसहरूको दैनिकी र आर्थिक गतिविधिमा आउने परिवर्तन हो। दसैंमा धेरै मानिस घर छाडेर गाउँ जाने भएकाले घर तथा कोठा सुनसान हुन्छन्। बजारमा किनमेलको चाप बढ्दा सर्वसाधारणले नगद तथा बहुमूल्य सामान बोकेर हिँड्छन्। यही अवस्थालाई अपराधमा संलग्न समूहले अवसरका रूपमा लिने गर्छन्। तिहारमा सुनचाँदीका गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्ने परम्पराका कारण बहुमूल्य वस्तुको कारोबार बढ्छ। यसले चोरीका साथै चोरीका सामान खरिदबिक्री गर्ने समूहलाई पनि सक्रिय बनाउने जोखिम रहन्छ।

अर्कोतर्फ, अनलाइन सपिङ, मोबाइल बैंकिङ्ग र डिजिटल भुक्तानीको प्रयोग बढेसँगै ठगीका नयाँ तरिका पनि देखिन थालेका छन्। आकर्षक छुट, सस्तो मूल्य र उपहारको प्रलोभन देखाएर नक्कली अनलाइन विज्ञापनमार्फत सर्वसाधारणलाई ठगी गर्ने जोखिम चाडपर्वमा झन् बढ्छ। नक्कली नोटको कारोबार र मोबाइल बैंकिङ्गको दुरुपयोगबाट रकम ठग्ने घटनासमेत चुनौतीका रूपमा छन्। चाडपर्व लक्षित किनमेल र आर्थिक कारोबार बढ्ने समयलाई अपराधीहरूले आफ्नो स्वार्थमा प्रयोग गर्ने भएकाले प्रहरीले पनि विशेष सुरक्षा योजना तथा निगरानी बढाउने गरेको छ। तर, यस वर्षको तथ्यांकले चाडपर्वमा हुने अपराध नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखाएको छ।