नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा ओमप्रकाश गिरीविरुद्ध मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा रोजगार संयोजक पदमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद प्राप्त गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फेटा गाउँपालिकामा कार्यरत गिरीले नियुक्तिका लागि पेस गरेका प्रमाणपत्र तह र स्नातक तहका शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेको थियो।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा गिरीले २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पदमा नियुक्ति पाउन पेस गरेको तीन वर्षे बीएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उनको नभई अन्य व्यक्तिको रहेको पुष्टि भएको आयोगले जनाएको छ।

आफ्नो वास्तविक शैक्षिक योग्यता लुकाई झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको देखिएको भन्दै आयोगले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा कारबाहीको मागदाबी गरेको छ।