काठमाडौं – तिहारमा घरघर उज्यालो छाएको छ। फूलमाला, दियो र झिलिमिली बत्तीले गाउँदेखि सहरसम्म उत्सवको रौनक थपेको छ। दिदीबहिनी आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाउन आतुर छन्। देउसी भैलोको गुञ्जनसँगै परिवार र आफन्तबीच खुसी साटासाट भइरहेको छ। तर, यही उल्लासबिच केही प्रहरी कर्मचारी भने नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो कार्यक्षेत्रमै खटिएका छन्। उनीहरूका लागि चाडपर्वभन्दा ठुलो जिम्मेवारी नागरिकको सुरक्षा बनेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको तिहार पनि यसपालि प्रहरी कार्यालयमै बित्दै छ। प्रहरी सेवामा प्रवेश गरेदेखि नै उनले तिहारमा घर गएर पर्व मनाउन पाएकी छैनन्। २०७० सालमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेकी बोहराको जागिरे जीवनका पछिल्ला १२ वर्षका तिहार प्रहरी कार्यालयमै बितेका छन्।
अरूका घरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइरहँदा उनी भने जिल्लाको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा हुन्छिन्। परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि प्रहरी सेवाको जिम्मेवारीले उनलाई हरेक वर्ष घरबाट टाढा राख्दै आएको छ। डोटीमा जन्मिएकी बोहराको परिवार अहिले कैलालीको लम्की चुहा नगरपालिका–प्रतापुरमा बसोबास गर्छ। उनका दुई दाजु र एक दिदी छन्। आफू घरमा नभए पनि दिदीले दाजुहरूलाई भाइटीका लगाइदिने भएकाले अहिले पहिलेको जस्तो मन खिन्न नहुने उनी बताउँछिन्। ‘सुरुका एक–दुई वर्ष त अलि खल्लो लाग्थ्यो। चित्त पनि दुख्थ्यो। तर, दिदीले म नभए पनि दाजुहरूलाई टीका लगाइदिनुहुन्छ। त्यसैले अहिले त्यस्तो धेरै महसुस हुँदैन,’ उनले भनिन्।
बाल्यकालको तिहार अझै सम्झनामा
प्रहरी सेवाको जिम्मेवारीले तिहारको पारिवारिक उल्लासबाट टाढा बनाए पनि बोहराको मनमा बाल्यकालको तिहारका सम्झना भने अझै ताजै छन्। गाउँघरको झिलिमिली, साथीभाइसँगको रमाइलो, देउसीभैलो र चाडपर्वको रौनक उनका लागि तिहारका सबैभन्दा सुन्दर सम्झना हुन्। त्यतिबेला तिहार आउनु भनेकै साथीभाइसँग रमाउने, गाउँघर घुम्ने र देउसीभैलो खेल्ने अवसर हुन्थ्यो। अहिले ती दिन सम्झँदा बाल्यकालका साथीहरूको यादले सताउने उनी बताउँछिन्।
‘बाल्यकालको तिहार एकदमै रमाइलो हुन्थ्यो। साथीहरूसँग देउसी–भैलो खेलेको, गाउँघर झिलिमिली भएको सम्झना आउँछ। बाल्यकालका साथीहरू पनि धेरै मिस हुन्छन्,’ उनले भनिन् । तर अहिले उनका लागि तिहारको अर्थ फेरिएको छ। परिवारसँग बसेर पर्व मनाउनुभन्दा नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउन पाउने वातावरण तयार गर्नु उनको प्राथमिकता बनेको छ।
चाडपर्वमा सुरक्षा चुनौती बढी
तिहारका बेला प्रहरीको जिम्मेवारी सामान्य दिनको तुलनामा थप संवेदनशील हुन्छ। चाडपर्व मनाउने क्रममा झैझगडा, चोरी, आगलागी तथा सवारी दुर्घटनाजस्ता घटना हुन सक्ने जोखिम बढी हुन्छ। त्यसैले जिल्ला प्रहरी प्रमुखका रूपमा बोहराले बाजुरामा शान्तिपूर्ण र सुरक्षित तिहारका लागि विशेष सुरक्षा योजना तयार पारेकी छन्।
दियो, मैनबत्ती तथा अन्य बत्ती बाल्ने क्रममा आगलागी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ। त्यस्तै, चाडपर्वमा सवारी आवागमन बढ्ने र चालकको लापरबाहीले दुर्घटना निम्त्याउन सक्ने भएकाले ट्राफिक सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ। तिहार मनाउन घर छाडेर बाहिर जानेहरूको संख्या बढ्ने भएकाले चोरीका घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समुदायस्तरमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन्। ‘यसपालिको तिहारलाई शान्तिपूर्ण, सुरक्षित र सभ्य बनाउन हाम्रो आफ्नै कार्ययोजना छ। आगलागीका घटना हुन नदिन प्रहरी टोली तयारी अवस्थामा छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई अगाडि बढाएका छौँ,’ उनले भनिन्।
कार्यालयमै सहकर्मीसँग तिहार
लगातार १२ वर्षदेखि तिहारमा घर जान नपाए पनि बोहराका लागि यो पर्व पूर्णतः खुसीविहीन भने छैन। प्रहरी कार्यालयमै रहेका सहकर्मीहरूसँग शुभकामना आदानप्रदान गर्दै उपलब्ध समयअनुसार तिहार मनाउने गरिएको उनी बताउँछिन्। यसपालि पनि कार्यालयमै रहेका सहकर्मीहरूसँग तिहारको खुसी साट्ने उनको योजना छ। नागरिकको सुरक्षा सुनिश्चित गर्नु नै आफ्नो प्राथमिकता भएको उनी बताउँछिन्। तिहारका अवसरमा प्रहरी संगठनले पनि आफ्नै विशेष कार्यक्रम सञ्चालन गर्छ । कुकुर तिहारका दिन प्रहरीमा कार्यरत तालिमप्राप्त कुकुरलाई धार्मिक परम्पराअनुसार पूजा तथा सम्मान गरिन्छ। नेपाल प्रहरीको केनाईन कार्यालयमा कुकुर तिहार विशेष रूपमा मनाइने गरेको बोहराले बताइन्।
सुरक्षित तिहार मनाउन नागरिकलाई आग्रह
तिहार खुसी, उल्लास र आपसी सद्भावको पर्व भए पनि सानो लापरबाहीले ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकाले नागरिक आफैँ सचेत हुनुपर्ने बोहराको सुझाव छ।दियो तथा मैनबत्ती बाल्दा विशेष सावधानी अपनाउन, बालबालिकालाई आगोबाट टाढा राख्न र पटका नपड्काउन उनले आग्रह गरेकी छन्। पटका पड्काउँदा आगलागीको जोखिम बढ्नुका साथै बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न सक्ने उनको भनाइ छ।
त्यस्तै, सवारीसाधन चलाउँदा मादक पदार्थ सेवन नगर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न उनले अनुरोध गरेकी छन्। ‘तिहारलाई हर्षोल्लास, आपसी सद्भाव र आत्मीयताका साथ मनाउनुपर्छ। तर, पर्व मनाउने क्रममा पनि आपराधिक घटना हुन सक्छन्। प्रहरीको प्रयासले मात्रै अपराध न्यूनीकरण सम्भव हुँदैन। सबै नागरिक आफ्नो घरबाटै सचेत हुन जरुरी छ,’ उनले भनिन्। परिवारसँग बसेर भाइटिका लगाउने र बाल्यकालमा जस्तै देउसी–भैलोको रमाइलोमा सहभागी हुने उनको रहर यसपालि पनि पूरा हुने छैन। तर, अरूका घरमा तिहारको उज्यालो कायम रहोस् र नागरिकले ढुक्कसँग पर्व मनाउन पाउन् भन्ने जिम्मेवारी बोकेर उनी यस वर्ष पनि प्रहरी पोसाकमै तिहार बिताउँदै छिन्।






About Us
प्रतिक्रिया