काठमाडौं – अनलाइन ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्था, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकलाई एउटै संयन्त्रमा जोडेर एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्र स्थापना भएपछि साइबर ठगीमा परेका ६७ प्रतिशत पीडितको रकम फिर्ता गरिएको प्रहरीले जनाएको छ। यसअघि यस्तो उजुरीमा करिब १० प्रतिशत पीडितको मात्रै रकम रोक्का हुने गरेको थियो।
डिजिटल बैंकिङ्ग, सामाजिक सञ्जाल र अनलाइन कारोबारको विस्तारसँगै नक्कली सामाजिक सञ्जाल खाता, फिसिङ लिंक, अनलाइन रोजगारीको प्रलोभन, चिट्ठा परेको बहाना र नक्कली लगानी योजनामार्फत ठगी हुने क्रम बढेको छ। यस्ता अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने उद्देश्यले २०७५ जेठ २७ गते साइबर ब्युरो स्थापना गरिएको थियो। पछिल्ला वर्षमा अनलाइन ठगीका घटना बढ्दै गएपछि अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ब्युरोकै मातहतमा गत कात्तिक २० गते एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको हो ।
सामाखुसीस्थित साइबर ब्युरोको नयाँ भवनमा स्थापना गरिएको केन्द्रमा प्रहरीसँगै बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधि खटिएका छन् । सम्बन्धित निकायका प्रतिनिधिबिच चौबीसै घण्टा समन्वय हुने व्यवस्था गरिएको छ। केन्द्रको नेतृत्व प्रहरी उपरीक्षक दीपकराज अवस्थीले गरिरहेका छन् ।
केन्द्रका प्रवक्ता अवस्थीका अनुसार स्थापना भएदेखि हालसम्म करिब ९४५ वटा उजुरी परेका छन् । उजुरी प्राप्त भएपछि ठगी भएको रकम रोक्का गर्ने र त्यसको कारोबार विवरण पछ्याउने कामलाई प्राथमिकता दिइएको छ । केन्द्र स्थापना हुनुअघि करिब १० प्रतिशत उजुरीमा मात्रै पीडितको रकम रोक्का हुने गरेकोमा अहिले ६७ प्रतिशत पीडितको रकम फिर्ता गरिएको उनले बताए। आगामी दिनमा उजुरी परेका शतप्रतिशत पीडितको रकम फिर्ता गराउने लक्ष्य रहेको उनको भनाइ छ ।
अवस्थीका अनुसार हालसम्म ५८ लाख ७८ हजार रुपैयाँ ठगी भएको विवरण प्राप्त भएको छ । त्यसमध्ये २६ लाख रुपैयाँ रोक्का गरिएको छ । करिब दुई लाख ७१ हजार रुपैयाँ निकासी भइसकेको छ भने करिब २९ लाख रुपैयाँ अझै ट्रेस हुन बाँकी छ ।
एउटै ठाउँबाट तत्काल समन्वय
यसअघि अनलाइन ठगीका उजुरी साइबर ब्युरोमा आउने गरे पनि पीडितको रकम रोक्का तथा फिर्ता गराउने प्रक्रियामा विभिन्न समस्या देखिने गरेका थिए । बैंक तथा वित्तीय संस्थाबाट खातासम्बन्धी विवरण प्राप्त गर्न लामो समय लाग्ने, फरक–फरक ढाँचामा सूचना आउने र ठगीको रकम केही मिनेटमै विभिन्न बैंकका खातामा स्थानान्तरण हुने समस्याले अनुसन्धान जटिल बनाउने गरेको अवस्थीले बताए ।
ठगीबाट प्राप्त रकम एउटा खातामा मात्र सीमित नरही केही मिनेटमै चार–पाँचवटा बैंक खातासम्म पुग्ने गरेको छ। परम्परागत तथा म्यानुअल प्रक्रियाबाट अनुसन्धान अघि बढाउँदा रकम निकालिइसक्ने जोखिम रहने गरेको थियो। यही समस्या समाधान गर्न सम्बन्धित निकायका प्रतिनिधिलाई एउटै स्थानमा राखेर तत्काल समन्वय गर्ने अवधारणाअनुसार केन्द्र स्थापना गरिएको अवस्थीले बताए ।
केन्द्रको मुख्य उद्देश्य ठगीमा संलग्न व्यक्तिले रकम निकाल्न वा अन्य खातामा स्थानान्तरण गर्नुअघि नै रोक्का गर्नु हो । यसका लागि गृह मन्त्रालयबाट स्वीकृत कार्यदिग्दर्शनअनुसार केन्द्र सञ्चालन भइरहेको छ । यसको संरचनामा गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा निर्देशक समिति र नेपाल राष्ट्र बैंकका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। सञ्चालन तथा अनुसन्धानसम्बन्धी काम भने प्रहरीको नेतृत्वमा भइरहेको छ ।
चौबीसै घण्टा तीन सिफ्टमा सेवा
केन्द्रले तीन सिफ्टमा चौबीसै घण्टा सेवा दिइरहेको छ। यहाँ नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, नेपाल टेलिकम, एनसेल, इन्टरनेट सेवा प्रदायक संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल तथा भुक्तानी सेवा प्रदायक खल्ती र ई–सेवाका प्रतिनिधि खटिएका छन् ।
केन्द्रमा प्रहरीतर्फ दैनिक ३३ जनाको जनशक्ति परिचालन गरिएको छ। एक सिफ्टमा नौ जना प्रहरी कर्मचारी खटिन्छन्। प्रहरीले तत्कालका लागि विद्यमान जनशक्तिबाटै व्यवस्थापन गरी उजुरीमाथि अनुसन्धान गरिरहेको छ।
त्यसैगरी, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र भुक्तानी सेवा प्रदायकका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको जिम्मेवारी सम्हालिरहेका छन्। उनीहरूले रकम प्राप्त गर्ने खाताको पहिचान, मनी म्युल खाताको ट्र्याकिङ, डेटाबेस व्यवस्थापन तथा कानुनी प्रक्रियाका लागि आवश्यक फाइल तयार गर्ने काम गर्छन्।
कसरी हुन्छ ठगीको रकम रोक्का ?
केन्द्रमा हटलाइन, अनलाइन पोर्टल, नागरिक एप र प्रहरी एपमार्फत उजुरी दिन सकिन्छ। उजुरी प्राप्त भएपछि दर्ता तथा प्राथमिकीकरण गर्न शून्यदेखि १० मिनेटसम्म लाग्ने व्यवस्था गरिएको छ। त्यसपछि रकम प्राप्त गर्ने खाता तथा कारोबारको पहिचान गर्न १० देखि ३० मिनेट लाग्ने बताइएको छ।
यस क्रममा बैंक, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थाका समन्वय अधिकृतले लाभग्राही खाता, वालेट खाता, कारोबार भएको समय र रकम प्रवाहको विवरण तत्काल पहिचान गर्छन्। त्यसपछि प्रचलित कानुनअनुसार सम्बन्धित बैंक वा वालेट खातामा रहेको रकम रोक्का गर्न अनुरोध गरिन्छ।
ठगीको रकम अर्को खातामा स्थानान्तरण भइसकेको अवस्थामा कारोबारको वित्तीय ट्रेल पछ्याएर क्रमिक रूपमा सम्बन्धित खाता वा रकम रोक्का गर्ने प्रक्रिया अघि बढाइन्छ। यसका लागि १० मिनेटदेखि एक घण्टासम्म लाग्ने बताइएको छ।
रकम रोक्का गर्ने प्रक्रियासँगै ठगीमा प्रयोग भएका सञ्चार माध्यम अवरुद्ध गर्ने काम पनि अघि बढाइन्छ। मोबाइल सेवा प्रदायकसँग समन्वय गरी ठगीमा प्रयोग भएका सिमकार्ड निष्क्रिय गरिन्छ। त्यस्तै, इन्टरनेट सेवा प्रदायकमार्फत फिसिङ डोमेन र आईपी ठेगाना अवरुद्ध गर्ने प्रक्रिया अघि बढाइन्छ। यसका लागि सामान्यतया १० मिनेटदेखि एक घण्टासम्म लाग्ने केन्द्रले जनाएको छ।
केन्द्रबाट उपलब्ध गराइएका कागजात तथा प्रमाणका आधारमा सम्बन्धित प्रहरी अनुसन्धान कार्यालयमार्फत पीडितको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइन्छ। आवश्यकताअनुसार थप अनुसन्धान पनि गरिन्छ। उजुरी दर्ता, रकम रोक्का गर्न गरिएको अनुरोध, रोक्काको नतिजा र अनुसन्धानको प्रगतिबारे पीडितलाई जानकारी गराउने व्यवस्था गरिएको छ।
उजुरी कसरी दिने ?
केन्द्रले साइबर ठगीमा परेका व्यक्तिका लागि १२४७ नम्बरको हटलाइन सञ्चालन गरेको छ। ठगीमा परेको महसुस भएमा पीडितले उक्त नम्बरमा फोन गरेर आफ्नो विवरण उपलब्ध गराउन सक्छन्। फोनबाट प्राप्त विवरणको प्रारम्भिक प्रमाणीकरणपछि केन्द्रले सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रकम रोक्का गर्ने प्रयास गर्छ।
तर, हटलाइनमा फोन गरेकै आधारमा औपचारिक उजुरी प्रक्रिया पूरा हुँदैन। फोन गरेपछि प्राप्त टोकन नम्बरका आधारमा ४८ घण्टाभित्र आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा पुगेर औपचारिक निवेदन दिनुपर्छ। नजिकको प्रहरी इकाइमा प्रत्यक्ष सम्पर्क गरेर पनि उजुरी गर्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि केन्द्रले ठगी भएको रकमको कारोबार विवरण अर्थात् मनी ट्रेल पहिल्याउने काम अघि बढाउँछ । प्रक्रिया पूरा भएपछि आवश्यक फाइल सम्बन्धित जिल्लामा पठाइने भएकाले पीडितले अनुसन्धानका लागि केन्द्रमै धाउनुपर्ने अवस्था नरहेको अवस्थीले बताए ।
कुन निकायको के जिम्मेवारी ?
केन्द्रको समग्र संयोजन, उजुरी दर्ता, समन्वय तथा प्राथमिकीकरण, अनुसन्धान, सञ्चालन संयन्त्रको व्यवस्थापन र प्रमाण संरक्षणको जिम्मेवारी नेपाल प्रहरीको छ। नेपाल राष्ट्र बैंकले साइबर स्क्याम नियन्त्रणका लागि आवश्यक नियामकीय निर्देशन तथा मापदण्ड निर्धारण गर्छ। शंकास्पद बैंक खाता तथा रकम रोक्का गर्ने आधार, अवधि र प्रक्रिया तय गर्नुका साथै बैंक तथा भुक्तानी सेवा प्रदायक संस्थाको अनुगमन पनि राष्ट्र बैंकले गर्छ।
बैंक तथा वित्तीय संस्थाले शंकास्पद तथा म्युल खाताको पहिचान गर्ने, त्यस्ता खातामा रहेको रकम रोक्का तथा फुकुवा गर्ने र ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी), खाता खोल्दा प्राप्त विवरण (एओएफ), बैंक स्टेटमेन्ट तथा आईपी लगको विश्लेषण गर्ने जिम्मेवारी पाएका छन्। उनीहरूले उच्च जोखिमयुक्त कारोबारको निगरानीसमेत गर्छन्।
भुक्तानी सेवा प्रदायकले वालेट खाता तथा रकम रोक्का र फुकुवा गर्ने, म्युल खाताको पहिचान गर्ने, केवाईसी तथा एओएफ विवरण उपलब्ध गराउने र कारोबार विवरण तथा आईपी लगको विश्लेषण गर्छन्। भुक्तानी प्रणाली सञ्चालकले रकम प्रवाहको निगरानी गर्नुका साथै आवश्यक कारोबार विवरण र आईपी लग उपलब्ध गराएर उच्च जोखिमयुक्त कारोबार पहिचानमा सहयोग गर्छन्।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सदस्य बैंकहरूमार्फत म्युल खाताको पहिचान, खाता तथा रकम रोक्का र फुकुवा, केवाईसी तथा एओएफ विवरण र बैंक स्टेटमेन्ट उपलब्ध गराउने काममा सहजीकरण गर्छ।
दूरसञ्चार सेवा प्रदायकले साइबर स्क्याममा प्रयोग भएका मोबाइल नम्बर तथा सिमकार्ड पहिचान गरी आवश्यकताअनुसार निष्क्रिय गराउँछन्। कलिङ लाइन आइडेन्टिफिकेसन (सीएलआई) स्पुफिङ, बल्क एसएमएस तथा सेन्डर आईडीको दुरुपयोग नियन्त्रणमा पनि उनीहरूले प्राविधिक सहयोग गर्छन्। त्यस्तै, फिसिङ तथा ठगीमा प्रयोग भएका डोमेन र आईपी अवरुद्ध गर्ने, आवश्यक लग सुरक्षित राख्ने र मालिसियस एप्लिकेसन तथा सर्भरसम्बन्धी प्राविधिक सूचना आदानप्रदान गर्ने जिम्मेवारी पनि उनीहरूको छ।

मनी म्युल खाताबाट रकम ओसारपसार
ठगीको रकम ट्रेस तथा रोक्का गर्ने क्रममा केन्द्रले विभिन्न चरण र मापदण्ड अपनाउने गरेको छ। ठगीको रकम एउटै खातामा नरही साना–साना रकममा विभाजन भएर धेरै खातामा पुग्ने भएकाले सबै कारोबार पहिचान गर्न समय लाग्ने अवस्थीले बताए। एउटै मनी म्युल खाता विभिन्न ठगीका घटनामा पटक–पटक प्रयोग भएको पनि पाइएको छ।
ठगीको रकम ओसारपसार गर्न प्रयोग हुने बैंक खातालाई मनी म्युल खाता भनिन्छ। यस्ता खाताको प्रकृति, कारोबारको अवस्था र शंकास्पद गतिविधिका आधारमा केन्द्रले फरक–फरक कदम चाल्ने गरेको छ। सामान्य अवस्थामा ठगी भएको रकम मात्र रोक्का गरिन्छ। तर, शंकास्पद गतिविधि व्यापक देखिएमा सम्बन्धित खाताको डेबिट कारोबार रोक्का गर्ने वा आवश्यकताअनुसार थप प्रतिबन्ध लगाउने प्रक्रिया अपनाइने अवस्थीले बताए।
सबै खातालाई एउटै प्रकृतिबाट नहेरी कारोबार इतिहास, संलग्नता र शंकास्पद गतिविधिको दायराका आधारमा निर्णय लिने गरिएको उनको भनाइ छ।
अवस्थीका अनुसार अनलाइन ठगीमा मुख्यतः आर्थिक प्रलोभन र डर देखाउने दुई तरिका प्रयोग भइरहेका छन्। सस्तो मूल्यमा महँगा सामान उपलब्ध गराउने, अनलाइन रोजगारीको अवसर दिने, लगानीबाट छोटो समयमै धेरै पैसा कमाउने, चिठ्ठा वा उपहार परेको भन्दै रकम माग्ने तथा विदेशमा मृत्यु भएको आफन्तको सम्पत्ति प्राप्त हुने भन्दै सम्पर्क गर्ने बहानामा ठगी हुने गरेको छ।
त्यस्तै, बैंक वा कानुन कार्यान्वयन गर्ने निकायबाट बोलेको भन्दै पीडितलाई डर देखाएर पैसा असुल्ने घटना पनि हुने गरेका छन्। ठगीका माध्यम फरक भए पनि सुरुमा पीडितलाई प्रलोभन वा डरमा पार्ने र त्यसपछि आर्थिक कारोबार गर्न लगाउने प्रवृत्ति देखिएको अवस्थीले बताए।

समयमै खबर गर्न प्रहरीको आग्रह
केन्द्रले रकम रोक्का तथा फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन ठगीमा परेका व्यक्तिले समयमै जानकारी दिनुपर्नेमा जोड दिएको छ। ठगी भएको थाहा पाएपछि जति छिटो सम्पर्क गरिन्छ, रकम सुरक्षित गर्ने सम्भावना त्यति नै बढी हुने अवस्थीले बताए ।
केन्द्रको कार्य प्रणालीलाई थप प्रभावकारी बनाउन आगामी दिनमा सूचना प्रणाली तथा डिजिटल माध्यमबाटै निवेदन प्राप्त गर्ने व्यवस्था विकास गर्ने योजना रहेको उनले जानकारी दिए। आवश्यकताअनुसार जनशक्ति थप गरी सेवा विस्तार गर्न सकिने पनि उनको भनाइ छ ।
अवस्थीले अनलाइन कारोबार गर्दा अपरिचित व्यक्तिलाई सहजै विश्वास नगर्न, आफ्नो ओटीपी, पासवर्ड तथा बैंकिङ्ग विवरण कसैलाई उपलब्ध नगराउन र अपरिचित स्रोतबाट प्राप्त लिंक तथा एपीके फाइल डाउनलोड नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईफोन प्रयोगकर्ताले आधिकारिक एप स्टोरबाहेकका अपरिचित स्रोतबाट एप डाउनलोड नगर्न पनि उनले सुझाव दिएका छन् ।
साइबर ठगी नियन्त्रणका लागि सरकारी संयन्त्रको सक्रियतासँगै नागरिकको सचेतना पनि उत्तिकै आवश्यक रहेको प्रहरीको भनाइ छ। ठगीमा परेको शंका लागेमा तत्काल १२४७ नम्बरमा फोन गरी विवरण उपलब्ध गराउन र टोकन नम्बर प्राप्त गरेपछि निर्धारित ४८ घण्टाभित्र नजिकको जिल्ला प्रहरी कार्यालयमा औपचारिक निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।




About Us
प्रतिक्रिया