काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, छरितो, सरल तथा प्रविधिमैत्री बनाएको जनाएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै नेपालको बीमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बीमितमैत्री बनाउन विभिन्न नियामकीय तथा नीतिगत व्यवस्था गर्दै आएको बताएको हो ।
प्राधिकरणका अनुसार बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी निर्देशिका र परिपत्रबमोजिम बीमा कम्पनीहरूले तोकिएको समयावधिभित्र बीमा दाबी फर्छ्योट गर्नुपर्ने व्यवस्था रहेको छ। बीमितहरुको पहुँच सहज बनाउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुबाट सहजीकरणका लागि सेवा प्रदान भइरहेको प्राधिकारणले बताएको छ ।
बीमा कम्पनी, कर्मचारी वा सर्भेयरले विद्यमान नीतिगत व्यवस्थाविपरीत दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नगरेमा बीमितले आवश्यक प्रमाणसहित नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था रहेको प्राधिकरणले स्पष्ट पारेको छ। यसैगरी, हेलो सरकारमार्फत प्राप्त हुने बीमासम्बन्धी गुनासाहरूलाई समेत यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।




About Us
प्रतिक्रिया