७९ करोडको आईपीओ निष्कासनको तयारीमा निलगिरी खोला, नाफा बढेर ७४ करोड पुग्यो


काठमाडौं – सर्वसाधारणका लागि ७९ करोड २० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको निलगिरी खोला हाइड्रोपावरको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ७४ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा ६५ लाख ४७ हजार रुपैयाँ मात्रै थियो।

कम्पनीको आम्दानीमा समेत सुधार आएको छ। गत आर्थिक वर्षमा कम्पनीले दुई अर्ब १८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी एक अर्ब ५९ करोड रुपैयाँ थियो। नाफा र आम्दानी बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा ०.२१ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर २३ रुपैयाँ ५६ पैसा पुगेको छ।

यद्यपि, कम्पनीको कुल सम्पत्तिमा भने केही कमी आएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति १५ अर्ब १८ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति १५ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ थियो। त्यस्तै, आयोजना निर्माणका लागि लिएको ऋण पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४४ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको ऋण गत आर्थिक वर्षमा बढेर ५० करोड रुपैयाँ पुगेको छ।

७९ करोडको आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
निलगिरी खोला हाइड्रोपावरले सर्वसाधारणका लागि ७९ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७९ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। कम्पनीले २०८१ साउन २२ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ।

प्रभु क्यापिटलले निलगिरी खोलासहित छायाँदेवी कम्प्लेक्स, आईएमई लिमिटेड, श्री डिस्टिलरी, एलसी इनर्जी, अतिथि रिसोर्ट एन्ड स्पा र डिस मिडिया नेटवर्कको समेत आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको जिम्मेवारी पाएको छ। सेबोनले गत कात्तिक ११ गते आईपीओ निष्कासनको प्रतीक्षामा रहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो। बोर्डको वर्गीकरणअनुसार निलगिरी खोला हाइड्रोपावर चौथो चरणमा परेको छ।

१०९ मेगावाटका दुवै आयोजना सञ्चालनमा
निलगिरी खोला हाइड्रोपावरले म्याग्दीको नारच्याङमा निर्माण गरेका कुल १०९ मेगावाट क्षमताका दुईवटै जलविद्युत् आयोजना सम्पन्न गरी व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीद्वारा प्रवर्द्धित आयोजनामध्ये ७१ मेगावाट क्षमताको निलगिरी खोला–२ ले २०८० चैत २४ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो। त्यस्तै, ३८ मेगावाट क्षमताको निलगिरी खोला–१ ले २०८१ साउन २१ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको थियो। यससँगै कम्पनीका दुवै आयोजना सञ्चालनमा आइसकेका छन् । यी आयोजनाबाट उत्पादित विद्युत् बिक्री कम्पनीको आम्दानीको प्रमुख आधार बनेको छ।

को–को छन् सञ्चालक ?
निलगिरी खोला हाइड्रोपावरको सञ्चालक समितिमा तीनजना छन्। समितिको अध्यक्षमा महेश्वर प्रकाश श्रेष्ठ रहेका छन्। त्यस्तै, सञ्चालकमा शिवान्तबहादुर पाण्डे र इशा श्रेष्ठ छन्।