बैंकिङ्ग बहस

‘नेपालका बैंक दक्षिण एसियाली मुलुकको तुलनामा बलिया छन्’

‘नेपालका बैंक दक्षिण एसियाली मुलुकको तुलनामा बलिया छन्’


सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई आक्रमण गर्ने क्रम बढ्दो स्थितिमा छ । विभिन्न विषयसँग र विवादसँग जोडेर विभिन्न बैंकमाथि आक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले यसप्रति ध्यानाकर्षण गरेकाे छ भने विभिन्न निजी क्षेत्रका छाता संगठनले समेत यसप्रति चिन्ता व्यक्त गरेका छन् । खासगरी, कर्णाली विकास बैंकमा समस्या देखिएपछि नेपाल राष्ट्र बैंकको तीन सदस्यीय व्यवस्थापन समूहले ‘टेकओभर’ गरेको छ । यही विषयलाई लिएर विभिन्न समूहले विभिन्न बैंक तथा वित्तीय संस्थामा निरन्तर आक्रमण गरिरहेका हुन् । पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालसँग यही र यस्तै विषयमा केन्द्रित रहेर नेपालका बैंक तथा वित्तीय संस्थाको पछिल्लो अवस्था, बाहिर हल्ला चलेजस्तै सहजै बैंकमा समस्या आउँछ वा आउँदैन भन्ने विषयमा बैंकिङ्ग बहसमा गरिएको कुराकानीको सम्पादित अंश :–

लगानीयोग्य रकम थुप्रिएको छ । खराब कर्जा सरदरमा साढे ४ प्रतिशतभन्दा माथि छ । बैंक तथा वित्तीय संस्थामा यतिबेला देखिएका विविध समस्या र चुनौतीलाई कसरी विश्लेषण गर्न सकिन्छ ?

नेपालका बैंकहरुमा देखिएको अहिलेको समस्या कोरोना महामारीपछिको प्रभाव हो । यही कारण, बैंकमा पैसा थुप्रिएको छ भने खराब कर्जा बढेको छ । यसबाहेक, यतिबेला अर्थतन्त्र चलायमान बन्न सकेको छैन । यही कारण, ब्याजदर एकल बिन्दुमा आउँदा पनि लगानी भएको छैन । अहिले बैंक तथा वित्तीय संस्था र राज्यले लिने अस्थिर नीतिका कारण लगानीकर्ता र उद्यमी व्यवसायीको विश्वास टुटेको छ । जबकि, नेपालका बैंक तथा वित्तीय संस्था दक्षिण एसियाकै बलियो अवस्थामा छन् ।

अमेरिकाजस्तो देशमा त बैंक डुब्छन् । भारतमा पनि पन्जाब नेश्नल बैंकमा समस्या देखा परेको छ । उनीहरूको नियमन कमजोर भएर यस्तो भएको होइन । यो समस्या सबैतिर आउँछ । तर, उनीहरूको तुलनामा नेपालको नियमन पनि कमजोर भएको होइन । खराब कर्जा उठ्न नसक्दा यो समस्या आएको हो । अहिलेपनि नेपालका बैंक तथा वित्तीय संस्था समस्यामा परिहाल्ने अवस्था छैन ।

तपाईँले विश्व परिदृश्य कोट्याइहाल्नुभयो । अमेरिकामा दुई/तीन वटा बैंक डुबे । भारतको पन्जाब नेश्नल बैंकको अर्बौँ डलर ऋण खराब कर्जामा परिणत भएको छ । नेपाल यी उदाहरण हेरेर खुसी बन्न मिल्छ ?

मिल्दैन । र, नेपाल राष्ट्र बैंकले यसरी खुसी पनि हुँदैन । म गभर्नर बन्दै गर्दा २० वटा बैंक समस्याग्रस्त बनेका थिए । कूल २० अर्ब रुपैयाँभन्दा बढी डुब्ने स्थितिमा थियो । ती सबैलाई पार लगाइयो । पूँजी वृद्धि र मर्ज भयो । सबैलाई व्यवस्थापन गरियो । यसकारण, राष्ट्र बैंकले समस्याग्रस्त बैंकलाई डुब्न दिँदैन, व्यवस्थापन गरेर सही दिशामा ल्याउँछ । नेपालसहित विश्वभरका केन्द्रीय बैंकले लगानीकर्ताको रकम विभिन्न माध्यमबाट सुरक्षित गर्छन् । बीमामार्फत र सरकारले नै सर्वसाधारणको पैसा डुब्न दिँदैन । अमेरिकामा बैंक समस्यामा आउँदा राष्ट्रपति कार्यालयले वक्तव्य नै निकालेर निक्षेपकर्ताको पैसा सुरक्षित हुन्छ भनेको थियो । अनि, बैंकहरु निजी हुँदैनन्, सार्वजनिक हुन्छन् ।

अहिलेको बैंकहरुको वित्तीय विवरण हेर्दा लगानी बढेको छैन । ब्याजदर घट्दा आम्दानी घटेको घट्यै छन् । खराब कर्जा सरदरमा साढे ४ प्रतिशतभन्दा माथि पुगिसक्यो । यस आधारमा अहिले कर्णालीमा सुरु भएको समस्या आगामी दिनमा अन्य बैंकमा नहोला भन्न सकिन्छ ?

संसारमा सबै देशमा सबै क्षेत्रमा उतारचढाव भइरहन्छ । लगानी निश्चित हुँदैन । केन्द्रीय बैंकको अनुगमन र नियमन कडा हुनुपर्छ र बैंक तथा वित्तीय संस्था समेत आफैँ जिम्मेवार हुनुपर्छ । बैंक तथा वित्तीय संस्था पनि स्वयम नियमनमा छन् । कर्णाली विकास बैंक लगायत संस्थामा देखिएका समस्या सामान्य हुन् । नेपालको बैंक तथा वित्तीय संस्थाका सूचक दक्षिण एसियाकै उत्कृष्ट छ ।

तपाईँले पहिला पनि नेपालका बैंक दक्षिण एसियाकै बलिया स्थितिमा रहेको बताउनुभयो । अहिले पनि यो विषय दोहोराउनुभयो। अन्य देशका उदाहरण सुनौँ न ।

दक्षिण एसियामा खराब कर्जा नै धेरै माथि छ । भारतमा सरदर ९ प्रतिशतभन्दा माथि छ भने बंगलादेशमा ११ प्रतिशतभन्दा माथि छ । पाकिस्तानमा यस्तै उच्च छ । नेपालमा सरदरमा साढे ४ प्रतिशत मात्रै छ । नेपालमा ‘प्रोभिजन’ अनिवार्य छ । एक वर्षसम्म ऋण उठेन भने सो बराबरको रकम ‘प्रोभिजन’मा राख्नुपर्ने व्यवस्थाका कारण राष्ट्र बैंकले सम्बन्धित बैंकको स्थिति पत्ता लगाउँछ । नेपालको नियमन र अनुगमन कडा भएकाले बैंक तथा वित्तीय संस्थाले मनपरी गर्ने अवस्था छैन ।

राष्ट्र बैंकको नियमन, निरीक्षण र अनुगमन कडा कसरी देखियो ? कर्णाली विकास बैंकको खराब कर्जाको लुकेको तथ्यांक पत्ता लगाउन यत्रो समय लाग्यो । १ अर्ब ३३ करोडभन्दा बढी रकम अपचलन हालसालै पत्ता लाग्दैछ । कसरी कडा भयो नियमन र निरीक्षण ?

बैंकहरु सुरुमा स्वनियमनमा बस्नुपर्छ । बैंकहरुले पठाउने तथ्यांक केलाउने र यसबाट कमीकमजोरी पत्ता लगाउने काम राष्ट्र बैंकको हो । यति गर्दा पनि कुनै बैंकहरुले केन्द्रीय बैंकको आँखोमा छारो हाल्छन् । समय समयमा स्थलगत निरीक्षण गर्दापनि पत्ता लाग्छ । बैंकहरुले लुकाउँदैमा सँधैका लागि राष्ट्र बैंकको आँखामा छारो हाल्न सक्दैनन् । यता चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा पनि यस्तै भएपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।

कर्णाली विकास बैंकमा देखिएको समस्याका कारण राष्ट्र बैंकलाई चनाखो बन्न कतिकाे सहज भयो ?

हो। कर्णालीका कारण राष्ट्र बैंक थप चनाखो बन्न पाउने भयो। यस्तै, समस्या अन्य बैंकमा पनि छ वा छैन भनेर अध्ययन गर्न सहज हुने भयो । यसबाहेक लघुवित्तमा पनि केन्द्रीय बैंकले नजर डुलाउनुपर्छ । तर, एउटा बैंकलाई हेरेर सबै बैंक समस्यामा छन् वा डुब्छन् भन्न मिल्दैन । किनकि, लगानीकर्ता, व्यवस्थापन, पूँजीकोष, चुक्ता पूँजी र सेवाग्राही फरक-फरक छन् । यही कारण, सबै बैंकलाई एउटै डालोमा राख्न हुँदैन ।