युएईमा बसेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई ‘वित्तीय सचेतना’

विदेश गएका नेपालीलाई लगानीबारे सचेतना फैलाउन पाउँदा खुसी लाग्छ; राजेन्द्र पौडेल (सृजन)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालीहरूमा वित्तीय सचेतनाको विषय पेचिलो बन्दै गएको छ। इन्टरनेटको पहुँच देशव्यापी रूपमा पुग्नुका साथै मोबाइलको पहुँच समेत अत्याधिक नेपाली समक्ष पुगिसकेको छ। यससँगै, स्कयामरहरुलाई ठगी धन्दा चलाउन सहज बनिरहेको छ। शिक्षित वर्ग नै लालचमा परेर प्रलोभनमा पर्ने क्रम बढेपछि नेपाल प्रहरी नै हैरान छ। जसकारण पछिल्लो समय अनलाइन ठगीमा पर्नेहरूको संख्या उल्लेख्य बढेको छ।

यहीक्रम वैदेशिक रोजगारीका लागि विदेश पुगेका नेपालीहरूमा समेत छ। विदेशमा रहेका नेपालीहरु समेत ठुलो संख्यामा प्रलोभनमा पर्दै वित्तीय ठगीमा पर्न थालेपछि वित्तीय साक्षरता फैलाउने लक्ष्य राखेर राजेन्द्र पौडेल (सृजन)ले ‘वे टू सक्सेस’मार्फत विभिन्न मुलुकमा रहेका नेपालीलाई वित्तीय सचेतना फैलाउँदै आएका छन्। उनै सृजनसँग बैंकिङ्ग समाचारको इन्भेष्टमेन्ट टकमा गरिएको कुराकानीको सम्पादित अंश:

तपाईँले युएईमा बसेर नेपालीहरूलाई वित्तीय साक्षरता पढाउने सोच कसरी बनाउनुभयो ?
म आफैँ पनि एक वैदेशिक रोजगारीमा गएको व्यक्ति हुँ। २०११ मा साउदी गएँ, पछि फर्केर नेपालमा केही गर्न खोज्दा सफल भइनँ र फेरि युएई गएँ। त्यहाँ मैले के बुझेँ भने, हामी सधैँ सरकार र नीति नियमलाई मात्र दोष दिन्छौँ। तर, आफ्नो पैसाको व्यवस्थापन आफैँले गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिँदैनौँ। विदेशमा पहिलो पटक मासिक तलब बुझ्दा धेरैलाई त्यो पैसा के गर्ने भन्ने थाहा हुँदैन। घर पठाएको पैसा विलासितामा खर्च हुन्छ। त्यसैले, त्यो पैसा सधैँ आउँदैन र भोलि नेपाल फर्किँदाको लागि बचत गर्नुपर्छ भन्ने सिकाउन मैले यो अभियान सुरु गरेँ।

तपाईँले आफ्नो कम्पनी दर्ता गर्न युएईलाई नै किन रोज्नुभयो ?
युएई लगानीमैत्री छ। अहिले त्यहाँ शतप्रतिशत आफ्नै स्वामित्वमा कम्पनी खोल्न सकिन्छ। साथै, यो एउटा ग्लोबल हब हो, जहाँबाट एसिया, अफ्रिका र युरोपका नेपालीहरूसँग जोडिन सहज हुन्छ। युएईमा मात्रै करिब १० लाख नेपाली हुनुहुन्छ, त्यसैले यो हाम्रो समुदायसम्म पुग्ने मुख्य केन्द्र हो।

अहिले धेरै नेपालीले युएईको रियल स्टेट वा क्रिप्टोमा लगानी गरिरहेका छन् भन्ने सुनिन्छ, तपाईँको अनुभव के छ ?
धेरैले त्यहाँ व्यापार गरिरहेका छन्। नेपालबाट सिधै पैसा लगेर लगानी गर्न त कानुनी रूपमा कठिन छ। तर, त्यहीँ कमाएको पैसाले फ्ल्याट किन्ने वा व्यवसाय गर्नेहरू धेरै हुनुहुन्छ। तर मेरो जोड सधैँ के हुन्छ भने, आफ्नो भविष्य नेपालमै सुरक्षित गर्नुपर्छ। मानिसहरूले नेपालको तुलनामा त्यहाँको कानुनी प्रक्रिया र लगानीको वातावरण बढी सुरक्षित महसुस गर्ने भएकाले पनि त्यता आकर्षित भएका हुन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सबैभन्दा ठुलो वित्तीय गल्ती के देख्नुहुन्छ ?
धेरैले वर्षौँसम्म कमाएको पैसा एउटा ठुलो घर बनाउनमै खर्च गर्छन्। कतिपयले त चर्को ब्याजमा ऋण लिएर घर बनाउँछन्। र त्यो ऋण तिर्दातिर्दै आफ्नो उमेर र परिवारसँग बस्ने समय सकिन्छ। घर आधारभूत आवश्यकता हो, तर सबै कमाइ त्यसमै खन्याउनु ठुलो समस्या हो।

विदेशमा नेपालीहरू कस्ता ‘स्क्याम’ (ठगी) मा बढी पर्छन् ?
विशेष गरी नेटवर्किङ र पोन्जी स्क्याम। पैसा दोब्बर-तेब्बर बनाइदिने लोभमा धेरै फस्छन्। पछिल्लो समय नक्कली क्रिप्टो प्रोजेक्टहरू देखाएर ठग्ने क्रम बढेको छ। मेरो एउटै सूत्र छ ( कसैले पनि सित्तैमा पैसा दिँदैन। यदि कसैले रातारात धनी बनाउने सपना देखाउँछ भने त्यो ठगी हो।

महिनाको ५० हजार वा १ लाख कमाउनेले कसरी बचत गर्ने ? केही उपाय छ ?
नेपालमा ३० प्रतिशत बचतको कुरा गरिन्छ। तर विदेशमा हुनेले कम्तीमा ६० देखि ७० प्रतिशत बचत गर्नुपर्छ। किनभने विदेशको कमाइ सधैँ हुँदैन। मैले ु१० हजारको सूत्रु सिकाउने गरेको छु, जसमास् वैदेशिक रोजगारीमा रहेकाहरूलाई छुट्याइएको १० प्रतिशतको प्राथमिक शेयर आईपिओ भर्ने। दीर्घकालीन र सुरक्षित लगानीका लागि एसआईपीमा लगानी गर्ने र पेन्सन र उपचार खर्चका लागि सामाजिक सुरक्षा कोषमा लगानी गर्ने। यस्तै, थप विविधीकरणका लागि नागरिक लगानी कोषमा लगानी गर्ने।

हुन्डीमार्फत पैसा पठाउँदा के कस्ता जोखिम छन् ?
सबैभन्दा ठुलो जोखिम कानुनी प्रमाणको अभाव हो। भोलि तपाईँले करोडौँको घर बनाउनुभयो तर बैंकिङ्ग रेकर्ड छैन भने सम्पत्ति शुद्धीकरणु अन्तर्गत कारबाहीमा पर्न सक्नुहुन्छ। बैंकिङ्ग च्यानलबाट पैसा पठाउँदा तपाईँको वित्तीय प्रोफाइल बलियो हुन्छ। जसले भोलि ऋण लिन वा सम्पत्तिको स्रोत देखाउन सजिलो बनाउँछ।

अन्त्यमा, शवे टु सक्सेस’ को दीर्घकालीन लक्ष्य के हो ?
हामी परदेशीको आफ्नै परिवार बन्न चाहन्छौँ। हामीसँग डब्लूटीएस गुरु र विदेश जस्ता एपहरू छन्। जसले उनीहरूलाई सिकाउने र सहयोग गर्ने काम गर्छन्। हाम्रो लक्ष्य भनेको कुनै पनि नेपालीले विदेशमा दुःख गरेर कमाएको पैसा नडुबोस् र उनीहरू सफल भएर नेपाल फर्कन सकुन् भन्ने नै हो।