बाढीपीडितको राहतका लागि काठमाडौं निम्न व्यापारी संघद्वारा १३ लाख ५१ हजार रुपैयाँ सहयोग


काठमाडौं – भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि काठमाडौं निम्न व्यापारी संघ ले १३ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। संघले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो।

भृकुटीमण्डप क्षेत्रमा व्यवसाय गर्दै आएका करिब १३ सय व्यवसायी सदस्य आबद्ध रहेको काठमाडौं निम्न व्यापारी संघ व्यवसायीहरूको हकहितसँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय रहँदै आएको छ। भृकुटीमण्डप खुला बजारको इतिहास २०४९ साल पुस २ गते देखि जोडिएको छ। तत्कालीन काठमाडौं नगरपालिका, समाज कल्याण परिषद् र व्यापारीबीच भएको त्रिपक्षीय सम्झौताबाट भृकुटीमण्डप खुला बजार सञ्चालनमा आएको हो।

तत्कालीन काठमाडौं नगरपालिका हाल काठमाडौं महानगरपालिका का रूपमा रहेको छ। खुला बजारमा व्यवसाय गर्दै आएका व्यापारीहरूले करिब ३३ वर्षदेखि विभिन्न चुनौतीका बीच व्यवसाय सञ्चालन गर्दै आएका छन्। सीमित पूर्वाधारमा, लामो समयसम्म प्लास्टिकको छानामुनि समेत व्यवसाय गर्दै आएका व्यापारीहरूले आफ्नो जीविकोपार्जनसँगै राज्यलाई नियमित रूपमा ठूलो आर्थिक योगदान पुर्‍याउँदै आएका छन्।

संघका अनुसार व्यवसायीहरूले मासिक करिब ४५ लाख रुपैयाँ तथा वार्षिक झण्डै ६ करोड रुपैयाँ भाडा सरकारलाई बुझाउँदै आएका छन्। संघका अध्यक्ष लक्ष्मीप्रसाद ओली अनुसार विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले संघले उक्त रकम प्रदान गरेको हो। ‘हामी व्यवसायीहरूको हकहितका लागि मात्र सीमित छैनौँ। समाजमा आइपर्ने विपद् र दुःखमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो’ अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भने।

ओलीका अनुसार संघले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा विगतमा पनि पटक–पटक राहत तथा आर्थिक सहयोग गर्दै आएको छ। यसपटकको सहयोग पनि संघको निरन्तर सामाजिक उत्तरदायित्वकै एउटा हिस्सा भएको उनले बताए। भृकुटीमण्डपका व्यापारीहरू आफैं अनेकौँ चुनौतीबीच व्यवसाय गर्दै आएका छन्।

करिब १३ सय व्यवसायी सदस्यको प्रतिनिधित्व गर्ने संघले गरेको १३ लाख ५१ हजार रुपैयाँको सहयोगले भृकुटीमण्डपका व्यवसायीहरू व्यापारसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि प्रतिबद्ध रहेको सन्देश दिएको छ।