भारुमै ऋण लिने र तिर्ने विकल्पले विनिमय दरको जोखिम घट्छः अर्थमन्त्री वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसबारे जानकारी दिएका छन्।

उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए। नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ।

विशेषगरी प्रशारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए। यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्त्वपूर्ण उपलब्धि भएको जिकिर गरे।

‘भारतबाट प्राप्त सहुलियतपूर्ण ऋण तथा लाइन अफ क्रेडिट विशेषगरी ऊर्जा र पूर्वाधार विकासमा उपयोग गर्ने उद्देश्य राखिएको छ,’ अर्थमन्त्री वाग्लेले थपे, ‘अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमा ऋण लिन र भुक्तानी गर्न सकिने विकल्प प्राप्त हुनु महत्त्वपूर्ण उपलब्धि हो। यसले विनिमय दरको जोखिम घटाउन सहयोग गर्नेछ।’