धनकुटा – आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन। उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लाको सिमेन्ट आपूर्तिमा समेत असर परेको छ।
छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा सञ्चालित उद्योगको दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो। आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उत्पादन क्षमता घटेर दैनिक तीन हजार बोरामा सीमित भएको थियो। निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक दिनेश पौडेलको भनाइ छ। तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको र पुनः सञ्चालनको सम्भावना पनि नरहेको उनको भनाइ छ।
सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै पौडेलले बताए। उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्थिति र चिसो मौसमका कारण उत्पादन क्षमताअनुसार सञ्चालन हुन नसकेको सञ्चालकको भनाइ छ। दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन दैनिक १५० टनमा सीमित हुने गरेको थियो।
भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको उद्योगले जनाएको छ। एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्ट बिक्रीमा कमी आउनुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए।





About Us
प्रतिक्रिया