बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.८ प्रतिशतले बढ्यो


काठमाडौं – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप र निजी क्षेत्रतर्फको कर्जा प्रवाह दुवै बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप २.८ प्रतिशतले वृद्धि भई ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.७ प्रतिशतले वृद्धि भएको छ।

२०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती निक्षेपको हिस्सा ७.६ प्रतिशत, बचत निक्षेपको ४९.३ प्रतिशत र मुद्दती निक्षेपको ३४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा चल्ती निक्षेपको हिस्सा ६.५ प्रतिशत, बचत निक्षेपको ३८.७ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ४६.४ प्रतिशत रहेको थियो। यसले कुल निक्षेपमा बचत निक्षेपको हिस्सा बढेको र मुद्दती निक्षेपको हिस्सा घटेको देखाउँछ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३२.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको असोज मसान्तमा यस्तो हिस्सा ३५.३ प्रतिशत रहेको थियो।