काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी तथा सार्वजनिक संस्थामा जागिर खाएको आरोपमा भोज बाबु सोमै मगरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
प्यूठानको ढुंगेगढी गाविस– ४ घर भई हाल सरुमारानी गाउँपालिका– ४ बस्ने मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको भन्दै आयोगमा उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दा मगरले ओखलढुङ्गास्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष करार सेवामा प्राविधिक शिक्षक तथा सहायक प्रशिक्षकका रूपमा काम गरेको खुलेको आयोगले जनाएको छ।
त्यसपछि उनले नेपाल सरकारको खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा समेत करार सेवामा सब–इन्जिनियर पदमा काम गरेको पाइएको छ। आयोगका अनुसार मगरले दुवै संस्थामा नियुक्ति लिन सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा तह उत्तीर्ण गरेको देखिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको भनिएका झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कसुर मागदाबी गर्दै आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।





About Us
प्रतिक्रिया