काठमाडौं – नाबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त अरब इमिरेट्स (यूएई) काे माई ई–वालेट इन्टरनेशनल एफजेडसीओको सीईओमा नियुक्त भएका छन्। याेसँगै ढुङ्गाना यूएईको भर्चुअल सम्पत्ति तथा वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा सीईओ तहको नेतृत्व सम्हाल्ने पहिलो नेपाली बनेका छन्।
नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा दशकौंको अनुभव हासिल गरेका ढुङ्गानाको नेतृत्व क्षमताले अन्तर्राष्ट्रिय दृष्टिकोणले संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएकाे संस्थापकले बताए। पछिल्ला वर्षहरूमा यूएई विश्वकै प्रमुख डिजिटल वित्तीय तथा भर्चुअल सम्पत्ति केन्द्रका रूपमा विकसित भइरहेका बेला ढुङ्गानाको नियुक्तिलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार रणनीतिसँग जोडेर हेरिएको छ।
हालसम्म नेपाली नागरिकहरूले यूएईका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएपनि नियामकीय स्वीकृति प्राप्त भर्चुअल सम्पत्ति तथा वित्तीय प्रविधि क्षेत्रको उच्च नेतृत्व तहमा पुग्नु नेपाली समुदायका लागि विशेष उपलब्धि मानिएको छ। नेपालको बैंकिङ्ग क्षेत्रबाट अन्तर्राष्ट्रिय वित्तीय केन्द्र यूएईसम्म पुगेको नेपाली नेतृत्वको यो यात्रालाई नयाँ अध्यायका रूपमा हेरिएको छ।
ढुङ्गाना मात्र नभई अन्य बैंकका करिब ५-६ जना सीईओहरू नेपाली बैंकिङ्ग क्षेत्र छाडेर यूएई जाने तर्खरमा रहेकाे बताइएकाे छ। माई ई–वालेट इन्टरनेशनल एफजेडसिओमा आधारित डिजिटल वित्तीय सेवा तथा भर्चुअल सम्पत्ति क्षेत्रमा क्रियशील कम्पनी हो।








About Us
प्रतिक्रिया