तीन महिनामा ५ खर्ब ७९ अर्बको अन्तरबैंक कारोबार

'९६.३ प्रतिशतले बढ्याे'


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबारमा उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कुल ५ खर्ब ७९ अर्ब ८८ करोड बराबरको अन्तरबैंक कारोबार भएको हाे।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच ५ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंकहरूबीचको कारोबारबाहेक) ३४ अर्ब १३ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल २ खर्ब ९५ अर्ब ४३ करोड रूपैयाँको अन्तरबैंक कारोबार भएको थियो। त्यतिबेला वाणिज्य बैंकहरूबीच २४२ अर्ब ७९ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच ५२ अर्ब ६४ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा कुल अन्तरबैंक कारोबार २ खर्ब ८४ अर्ब ४५ करोड अर्थात् करिब ९६.३ प्रतिशतले बढेको छ। यस अवधिमा वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ भने अन्य वित्तीय संस्थाहरूबीचको कारोबार भने अघिल्लो वर्षको तुलनामा घटेको छ।