काठमाडाैं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै मात्र व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि गरिएको प्रारम्भिक जाँचबुझपछि अरु सात वटा विषयमा जाँचबुझ अघि बढाएको छ। भट्ट र अग्रवालको यो हाई प्रोफाइल प्रकरणपछि बोर्डले भित्री सूचना चुहावट (इन्साईडर ट्रेडिङ), बजारमा कृत्रिम उतारचढाव (मार्केट म्यानिपुलेसन) र सूचनाको गलत प्रवाह लगायतका धितोपत्र सम्बन्धी अन्य सात वटा ठुला कसुरहरूमाथि केन्द्रित भई अर्को प्रारम्भिक अनुसन्धान अघि बढाएको हो।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सुपरिवेक्षण कार्यलाई थप आक्रामक बनाउँदै बोर्डले धितोपत्र सम्बन्धी कसुरहरूको प्रारम्भिक जाँचबुझ सकेर थप अनुसन्धान र कारबाहीका लागि केन्द्रिय अनुसन्धान ब्यूरोमा फाइल पेस गरेको थियो। अन्य सात वटा गम्भीर विषयहरूमा अहिले उच्चस्तरीय प्रारम्भिक जाँचबुझ भइरहेको बोर्डले जानकारी दिएको छ।
यी अनुसन्धान कुन कुन कम्पनी र गिरोह लक्षित छन् भन्नेबारे सेबोनले हालसम्म आधिकारिक रूपमा विवरण गोप्य नै राखेको छ। यद्यपि, दीपक भट्ट र सुलभ अग्रवाल प्रकरण जस्तै ठुलो आकारको वित्तीय अपराध रोक्न र बजारका ठुला माछाहरूलाई कानुनी दायरामा ल्याउन खोजिएको सेबोन स्रोतले जानकारी दिएको छ।
बोर्डको यसअघिका अनुसन्धान प्रतिवेदन अनुसार हिमालयन रिइन्स्योरेन्सका प्रमुख लगानीकर्ता समेत रहेका भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनीसँगको मिलेमतोमा एक पैसा पनि अग्रिम नबुझाई (उधारोमा) ३ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको अवैध सेयर खरिद-बिक्री गरेको खुलेको छ।
त्यति मात्र नभई, भट्ट र अग्रवालको समूहले नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा उचाल्न एउटै आइपीएड्रेस प्रयोग गरी ‘मार्केट म्यानिपुलेसन’ गरेको र आफूहरू सम्बद्ध विभिन्न बीमा कम्पनीहरूको झन्डै ४ अर्ब रुपैयाँ बराबरको कोष (फन्ड) समेत दुरुपयोग गरेर बजार प्रभावित पारेको बोर्डको निष्कर्ष छ।
यो गम्भीर वित्तीय अपराधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले विस्तृत अनुसन्धान सकेर भट्ट र अग्रवालसहित ७५ जनाभन्दा बढी व्यक्तिहरू विरुद्ध गैरकानूनी बैंकिङ्ग कारोबार, ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा ५ अर्ब ५० करोडभन्दा बढी बिगो मागदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइसकेको छ।








About Us
प्रतिक्रिया