काठमाडौं – नेपाल सरकारले स्वीस बैंकमा रहेको नेपालीहरूको शङ्कास्पद धनबारे ठुलो कूटनीतिक पहल सुरु गरेको छ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत ड्यानियल मउलीसँग भेटेर स्विस बैंकमा राखिएको नेपालीको पैसा फिर्ता ल्याउन पहल सुरु गरेको जस्तो देखाएका छन्।
भेटमा गृहमन्त्री गुरुङले उच्चपदस्थ नेपाली अधिकारी वा व्यक्तिहरूले भ्रष्टाचार वा अपराधबाट आर्जित रकम स्वीस बैंकमा लुकाएका छन् कि छैनन् भन्नेबारे अनुसन्धानमा सहयोग गर्दै शङ्कास्पद खाताहरूको विवरण नेपाल सरकारलाई उपलब्ध गराउन भनेका छन्। यस्तै, स्विस बैंकमा नेपालीको अवैध धन भेटिएमा त्यसलाई कानुनी प्रक्रियामार्फत नेपाल फिर्ता ल्याउन सहजीकरण गर्न भनेका छन्।
नेपाल हाल फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा छ। यस्तो बेला सरकारले सम्पत्ति शुद्धीकरण विरुद्ध कडा कदम चालेको देखाउनु अन्तर्राष्ट्रिय छवि सुधार्न आवश्यक छ। यसबाहेक, स्वीस नेशनल बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपालीहरूको करिब ७२ खर्ब रुपैयाँभन्दा बढी (लगभग ३८७ मिलियन स्वीस फ्र्याङ्क) स्वीस बैंकमा छ।
यो रकम नेपाल ल्याउन सके बालेन नेतृत्वको रास्वपा सरकारको ठुलै उपलब्धि हुन्छ। तर, यो वर्तमान सरकारले गरेको स्टन्टको एउटा स्वरूप मात्रै हो। किनकि, नेपाल र स्विट्जरल्याण्डबीच अहिलेसम्म ‘पारस्परिक कानुनी सहायता सन्धि’ भएको छैन। यस्तो सन्धि बिना एउटा देशले अर्को देशको बैंक विवरण पाउन कठिन हुन्छ। यद्यपि सरकारको यो पहलले त्यस्तो सन्धि वा विशेष समझदारीको बाटो भने खोल्न सक्छ।
स्विस बैंक भनेको के हो ?
तपाईँले फिल्म वा समाचारमा धेरै पटक ‘स्विस बैंक’ को नाम सुन्नुभएको होला। प्रायः यसलाई धनी व्यक्तिहरूले आफ्नो गोप्य धन वा ‘कालो धन’ लुकाउने ठाउँको रूपमा चित्रण गरिन्छ। तर वास्तवमा यो के हो र यो किन यति चर्चित छ ? आउनुहोस्, यसलाई सरल भाषामा बुझौँ।
स्विस बैंक भनेको कुनै एउटा मात्र बैंकको नाम होइन। स्विट्जरल्याण्डमा रहेका सबै बैंकहरूलाई सामूहिक रूपमा स्विस बैंक भनिन्छ। यहाँका बैंकहरू संसारभरि नै दुईवटा कुराका लागि प्रसिद्ध छन्: गोपनीयता र सुरक्षा।
स्विस बैंकको लोकप्रियताको मुख्य कारण सन् १९३४ मा बनेको एउटा कडा कानुन हो। यो यही कारण यति विश्वभरि चर्चित छ। बैंकका कर्मचारीले आफ्ना ग्राहकको जानकारी कसैलाई (सरकारलाई समेत) दिन पाउँदैनन्। जसको नियमन स्विजरल्याण्डको केन्द्रिय बैंक अर्थात् स्विजरल्याण्ड नेशनल बैंकले गर्छ।
यदि कसैले ग्राहकको विवरण सार्वजनिक गरेमा उसलाई जेल सजाय र ठुलो जरिवाना समेत हुन्छ। धेरै बैंकहरूले त ग्राहकको नामको सट्टा ‘नम्बर’ मात्र प्रयोग गरेर खाता सञ्चालन गर्छन्, जसले गर्दा पहिचान लुकाउन सजिलो हुन्छ।
स्विस बैंकका मुख्य फाइदाहरू
आर्थिक स्थिरता: स्विट्जरल्याण्ड दशकौँदेखि कुनै पनि युद्धमा सहभागी भएको छैन। यहाँको अर्थतन्त्र र मुद्रा (स्विस फ्रान्क) संसारकै सबैभन्दा स्थिर मानिन्छ। यसको मुख्य कारण संसारभरको पैसा गोपनीयताका लागि यहाँ आउनु हो।
सम्पत्ति सुरक्षा: यदि कुनै देशमा राजनीतिक उथलपुथल वा आर्थिक मन्दी आयो भने मानिसहरू आफ्नो पैसा सुरक्षित राख्न स्विस बैंकमा पठाउँछन्।
तर, यो बैंक विवाद र आलोचनाबाट भने बच्न सकेको छैन। स्विस बैंकको यही गोपनीयताको फाइदा उठाएर विश्वभरका भ्रष्ट राजनीतिज्ञ, अपराधी र कर छली गर्नेहरूले आफ्नो अवैध धन त्यहाँ जम्मा गर्ने गरेको आरोप लाग्दै आएको छ। नेपाल जस्ता देशहरूबाट पनि ठुलो मात्रामा पुँजी पलायन भएर स्विस बैंकमा पुग्ने गरेको बेला मौकामा सार्वजनिक हुने अपुष्ट तथ्यांकले देखाउँछ।
तर, विश्वभर आतङ्कवाद र सम्पत्ति शुद्धीकरण बढ्दै गएपछि अन्तर्राष्ट्रिय दबाबका कारण स्विट्जरल्याण्डले आफ्नो नियममा केही खुकुलोपन ल्याएको छ। अब कर छली वा अपराधको स्पष्ट प्रमाण भएमा स्विस सरकारले सम्बन्धित देशलाई जानकारी उपलब्ध गराउन भने थालेको छ।



About Us
प्रतिक्रिया