बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनने नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको छ । राष्ट्र बैंकले गरेको अध्ययनको एक पद्दति सर्भे पनि थियो । उक्त सर्भेले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो ।
नेपाल राष्ट्र बैंकको रिसर्च डिपार्टमेन्टले गरेको एक अध्ययनमा नेपालजस्तो सानो अर्थतन्त्रका लागि वाणिज्य बैंकहरुको संख्या ११ देखि अधिकतम १५ वटा उपयुक्त हुने देखिएको हो । राष्ट्र बैंकले अध्ययनको सर्भेको लागि कुल २३० जना छनौट गरेको थियो । जसमा १४० जना बैंक तथा वित्तीय संस्थामा आवद्द थिए भने ९० जना विज्ञहरु थिए । राष्ट्र बैंकका अनुसार १४० जनामा बैंक तथा वित्तीय संस्थाका सीइओ, डेपुटी सीइओ, कार्यबाहक सीइओ, संचालक र अन्य उच्च ब्यबस्थापक रहेका थिए ।
उक्त सर्भेमा सहभागी भएका अधिकांशले नेपालमा हाल रहेको वाणिज्य बैंकको संख्या आवश्यकता भन्दा बढी रहेको उल्लेख गरेका छन् । बैंक तथा वित्तीय संस्थाको तर्फबाट सर्भेमा सहभागी भएका १४० जना मध्ये ८४ प्रतिशत र विज्ञ मध्ये ७८ प्रतिशतले वाणिज्य बैंकको संख्या आवश्यकता भन्दा बढी रहेको उल्लेख गरेका छन् ।
सर्भेमा सहभागी भएका मध्ये आधाभन्दा बढीले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने बताएका छन् । केन्द्रीय बैंकले बैंकहरुको संख्या घटाउने उद्देश्यले बिग मर्जरलाई प्राथमिकता दिने नीति एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेको बेला रिसर्च डिपार्टमेन्टले गरेको अध्ययनमा पनि यसको आवश्यकता टड्कारो देखिएको हो ।
सर्भेमा सहभागी भएका २० प्रतिशतले बैंकको संख्या ५ देखि १० वटा हुनु पर्ने उल्लेख गरेका छन् । त्यस्तै १५ प्रतिशतले १६ देखि २० वटा बैंक उपयुक्त हुने उल्लेख गरेका छन् । बाँकि भने २० देखि २५ बैंक हुनु पर्छ भन्नेमा छन् ।
त्यस्तै बैंक वित्तीय संस्थाबाट सहभागी मध्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै १८.६ प्रतिशतले स्वेछिक मर्जर हुनु पर्ने र २० प्रतिशतले फोर्स मर्जर गर्नु पर्ने उल्लेख गरेका छन् । त्यस्तै सर्भेमा सहभागी मध्ये ६१ प्रतिशतले कमजोर बैंक र बलियो बैंकबीच मर्जर हुनुपर्नेमा जोड दिएका थिए । यस्तो खालको मर्जरले मात्र सिनर्जी ल्याउने उनीहरुको तर्क थियो ।
यस्तै, बैंकको संख्या घटाउने भनी केन्द्रीय बैंकले लिएको मर्जरको नीति निकै प्रभावकारी र समयसापेक्ष भएको समेत रिसर्चका क्रममा सहभागीहरुले बताएका थिए । मर्जरपछि निकै राम्रो क्रेडिट ग्रोथ भएको, निक्षेपको आकार पनि बढेको, आम्दानी गर्नसक्ने शक्ति अझ बलियो बनेको तथा जोखिम व्यवस्थापन क्षमता निकै राम्रो ढंगले बढेको समेत पाइएको रिसर्च रिपोर्टमा दाबी गरिएको छ । तर, संचालन क्षमता भने उति साह्रो नबढेको पनि देखिएको छ ।
प्रतिक्रिया