साताको पहिलो दिन ३५.६७ अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

साताको पहिलो दिन ३५.६७ अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतवार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ३५.६७ अंकले घटेर १ हजार ९ सय २१ दशमलब २४ विन्दुमा बन्द भएको हो । बिहिवार नेप्से ११.०४ अंकले घटेर १ हजार ९ सय ५६ दशमलब ९२ बिन्दुमा पुगी बन्द भएको थियो ।       

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने उल्लेख्य बढेको छ । आज १ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार १ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ, ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

आज नेप्सेमा बराही हाइड्रोपावर कम्पनी र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यि दुवै कम्पनीहरुको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।   

आज हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चर २०८५ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीहरुको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।