नेपाल बैंकले नयाँ सीईओका लागि खुलायो आवेदन, के के चाहिन्छ योग्यता ?

नेपाल बैंकले नयाँ सीईओका लागि खुलायो आवेदन, के के चाहिन्छ योग्यता ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारी स्वामित्वमा रहेको नेपाल कै पहिलो बैंक नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आव्हान गरेको छ । बैंकका तत्कालीन सीइओ कृष्ण बहादुर अधिकारीले आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त रहेको सिइओ पदमा पदपूर्तिका लागि आइतबार एक सार्वजनिक सूचना जारी गर्दै नेपाल बैंकले सीईओको दरखास्त आव्हान गरेको हो ।

बैंकको सीइओमा आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ । यस्तै, चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीमा दरखास्त आवेदन दिन सक्नेछन् ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा उम्मेदवारहरुलाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।

\"\"