सिटिजन्स बैंकको १०% ब्याजदरको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने

सिटिजन्स बैंकको १०% ब्याजदरको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ को निष्काशन आज बैंकिङ्ग समयपश्चात बन्द गर्न लागेको हो ।

कम्पनीले असोज २१ गते एक सूचना जारी गर्दै कात्तिक १ गतेसम्म विक्रीको मिति तय गरेकोमा अब आज असोज २२ गते सूचना जारी गर्दै आजसम्म मात्र विक्रीमा रहने जनाएको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोे हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

बैंकको ऋणपत्र तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सकिनेछ ।