काठमाडौं – स्पष्ट बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि शेयर बजारमा दीर्घकालीन स्थायित्व र तीव्र वृद्धि हुने अपेक्षा गरिएको थियो। राजनीतिक अस्थिरताको अन्त्यसँगै लगानीकर्तामा उत्साह देखिएको थियो। तर, सरकार गठनपछि बजारले अपेक्षित गति लिन नसक्दा लगानीकर्ता निराश बनेका छन्। गत चैत १२ गते २ हजार ९ सय ५० दशमलव १६ अंकमा पुगेको नेप्से परिसूचक वैशाख २४ गतेसम्म आइपुग्दा घटेर २ हजार ७ सय १८ दशमलव १६ अंकमा झरेको छ। करिब एक महिनाको अवधिमा बजार २३२ अंकभन्दा बढीले घटेको हो।
पछिल्लो समय बजार लगभग दैनिक जसो ओरालो लागिरहेको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै राजनीतिक स्थायित्वको प्रभाव बजारमा सकारात्मक पर्ने विश्वासमा लगानीकर्ताले शेयर खरिद बढाएका थिए। दुई तिहाइ नजिकको सरकार बन्ने निश्चित भएपछि गत फागुन २५ गते साताको पहिलो कारोबारमै नेप्से ६ प्रतिशतले बढेको थियो र सर्किट ब्रेकरसमेत लागेको थियो। तर, सरकार औपचारिक रूपमा गठन भएपछि भने बजारले त्यो लय कायम राख्न सकेन।
सरकार गठनपछिको पहिलो कारोबार दिन चैत १५ गते नै नेप्से ७१.०५ अंकले घट्यो। त्यसदिन बजार २९ सयको विन्दुबाट २८ सयमा झरेको थियो। त्यसयता बजार निरन्तर दबाबमा देखिएको छ। वैशाख १८ गतेसम्म आइपुग्दा नेप्से पुनः २७ सयको विन्दुमा झरिसकेको थियो र गिरावट अझै रोकिएको छैन।
शेयर बजार लगानीकर्ता संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार बजार घट्नुको कारण लगानीकर्तामा डर मात्र नभई बजारलाई निष्पक्ष रूपमा दिशा दिन सक्ने नेतृत्वको अभाव पनि हो। उनका अनुसार बजारमा लगानीयोग्य रकमको अभाव छैन, न त ठुला नीतिगत अवरोध नै छन्। तर, बजारमा सक्रिय चलखेल गर्ने समूहले निश्चित स्वार्थअनुसार बजार चलाइरहेको आरोप उनले लगाए।

‘उनीहरू एउटा बिन्दुमा आएर शेयर बेच्ने र अर्को बिन्दुमा आएर किन्ने गर्छन्। बजार आफूहरूले चाहेको स्तरमा नपुग्दासम्म हलचल गर्दैन,’ उनले भने, ’ठुला खेलाडीहरूको पर्ख र हेर रणनीतिले साना लगानीकर्ता आजित भएका छन्।’ पाण्डेका अनुसार बजार नबढ्नुको अर्को कारण लगानीकर्ताको बदलिँदो रुचि पनि हो। अहिले धेरै लगानीकर्ता बलिया र पुराना कम्पनीभन्दा हालै आईपीओ आएका साना पुँजीका कम्पनीतर्फ आकर्षित भएका छन्। छोटो समयमै धेरै नाफा कमाउने प्रवृत्तिले बजारमा अस्थिरता बढाएको उनको भनाइ छ।
स्पष्ट बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि शेयर बजारमा दीर्घकालीन स्थायित्व र तीव्र वृद्धि हुने अपेक्षा गरिएको थियो। राजनीतिक अस्थिरताको अन्त्यसँगै लगानीकर्तामा उत्साह देखिएको थियो।
‘जबसम्म ठुला र बलिया कम्पनीको मूल्य बढ्दैन, तबसम्म वास्तविक बुल रन आउँदैन,’ उनले भने। ठुला कम्पनी स्थिर रहने र साना कम्पनीमा मात्रै खेल्ने प्रवृत्तिले पनि समग्र बजार माथि जान नसकेको उनको तर्क छ। नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी भने बजार घट्नुको मुख्य कारण नियामक निकायको अनुसन्धान र त्यसले सिर्जना गरेको मनोवैज्ञानिक त्रास भएको बताउँछन्। उनका अनुसार नेपाल धितोपत्र बोर्ड र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स जस्ता कम्पनीको संस्थापक लगानी र भित्री कारोबारमाथि अनुसन्धान थालेपछि ठुला लगानीकर्ता दबाबमा परेका छन्।

‘ठुला लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन्। त्यसैले बजारमा कारोबारको मनोविज्ञान कमजोर बनेको हो,’ उनले भने, ‘तर बजारले छिट्टै गति लिन सक्छ।’नेप्सेको तथ्यांकअनुसार चैत १३ गते नयाँ सरकार गठन भएयता भएका अधिकांश दिन बजार घटेको छ। सरकार गठनअघि चैत १० गते नेप्से २९६० अंकमा बन्द भएको थियो। यो १० महिनायताकै उच्च विन्दु थियो। नयाँ सरकार बनेपछि नीतिगत सुधार, आर्थिक गतिविधिमा सुधार र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि व्यवहारमा बजारले त्यसको सकारात्मक संकेत दिन सकेको छैन।



About Us
प्रतिक्रिया