काठमाडौं – दसैंपछि सर्वसाधारण लगानीकर्ताका लागि दोस्रो बजारमा धमाधम आईपीओ आउन लागेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार हाल ११७ वटा कम्पनीले बोर्ड समक्ष आईपीओ निष्कासनका लागि अनुमति मागेर बसेका छन्। यी कम्पनीहरूको आईपीओ दसैंपछि क्रमशः बजारमा आउने तयारी छ। विभिन्न क्षेत्रका ११७ कम्पनीहरूले हाल सेबोनमा कुल ५१ करोड ९ लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्। यी कम्पनीहरूले दसैँपछि ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछन्।
जसमा होटल एन्ड टुरिजम क्षेत्र अन्तर्गत १९ कम्पनीले ५ करोड ९७ लाख १३ हजार कित्ता बराबरको आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्। यस क्षेत्रका १९ कम्पनीहरूले ६ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछन्। त्यस्तै, हाइड्रोपावर क्षेत्रतर्फ ३८ कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा छन्। यस क्षेत्रका ३८ कम्पनीहरूले १८ करोड ७३ लाख कित्ता बढी शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्। यी ३८ कम्पनीले १९ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन्।
त्यस्तैगरी, लगानी क्षेत्रतर्फका ९ कम्पनीले ३ करोड २० लाख कित्ता शेयर निष्कासन गर्न बाेर्डमा आवेदन दिएका छन्। बोर्डको तथ्यांक अनुसार यी ९ कम्पनीले ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्न बोर्डमा अनुमति दिएका हुन्। उत्पादन तथा प्रशोधनतर्फ आईपीओ निष्कासनका लागि ३२ कम्पनीले बोर्डमा आवेदन दिएका छन्। यी कम्पनीहरूले १७ करोड ४१ लाख ९१ हजार कित्ता शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन्।
बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएपछि यी कम्पनीहरूले ३५ अर्ब ७१ करोड ४ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछन्। यता माइक्रो इन्स्योरेन्सतर्फ ३ कम्पनीले ६७ लाख ५० हजार कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन्। यी तीन कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन्। त्यसैगरी अन्य क्षेत्र अन्तर्गतका १५ कम्पनीले ५ करोड ९ लाख कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ। सेबोनले अनुमति दिएपछि यस क्षेत्रतर्फका १५ कम्पनीको ६ अर्ब १३ करोड ३ लाख रुपैयाँ बढी शेयर दोस्रो बजारमा आउनेछन्।
हाइड्रोपावर र उत्पादन क्षेत्र अगाडि
सेबोनको पाइपलाईनमा आईपीओ निष्कासनका लागि अनुमति पर्खिएर बसेका ६ ‘सेक्टर’ मध्ये सबैभन्दा धेरै र शेयर संख्याका आधारमा ठुला कम्पनी हाइड्रो र उत्पादनमूलक क्षेत्रअन्तर्गत रहेका छन्। सेबोनको तथ्यांक अनुसार हाइड्रो सेक्टरमा मात्रै ३८ कम्पनीहरू रहेका छन्। त्यस्तै, उत्पादन सेक्टरमा ३२ कम्पनी छन्। शेयर कित्ताका आधारमा आईपीओ अनुमति माग्ने सबैभन्दा ठुलो कम्पनीको सिउरी न्यादी हाइड्रोपावर हो। यस कम्पनीले बोर्डसमक्ष ३ करोड ३ लाख कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन सेक्टर अन्तर्गतको शुभश्री अग्रि सिमेन्टले बोर्डसमक्ष २ करोड २ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन्। त्यस्तै, जगदम्बा स्टिलले २ करोड कित्ता, महाशक्ति सिमेन्टले १ करोड ७८ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। सेबोनले आईपीओ निष्कासनका लागि तोकेको मापदण्ड पुरा गरेका कम्पनीहरूको शेयर दसैंपछि धमाधम दोस्रो बजारमा आउनेछन्।







About Us
प्रतिक्रिया