काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ‘नेप्से ३० इन्डेक्स’ ३ वर्ष अघि नै सम्पूर्ण तयारी सकेर पनि सञ्चालनमा ल्याउन असफल बनेको छ। २०८० असोज महिनाभित्रै ‘नेप्से ३० इन्डेक्स’ सञ्चालनमा ल्याउने भने पनि नेप्से यसलाई सञ्चालनमा ल्याउन असफल बनेको हो। सञ्चालनको सम्पूर्ण तयारी सकेर पनि नेप्सेले फाइललाई दराजमा नै थन्क्याएर राखेको छ। जसले सरकारी ढिलासुस्ती र अस्तव्यस्ततालाई उजागर गरेको छ। सबै प्राविधिक तयारी पूरा भएर पनि सञ्चालक समितिले सञ्चालन मिति तोक्न नसक्दा यो फाइल विचाराधीन अवस्थामा अड्किएको हो।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ‘नेप्से ३० इन्डेक्स’को सम्पूर्ण तयारी सकिएको छ। तर, सञ्चालनमा ल्याउनका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्छ। तर, अहिलेसम्म निर्णय हुन नसक्दा यसको सञ्चालनमा ढिलाइ आएको हो। ‘तत्कालीन सञ्चालक समितिबाट ‘नेप्से ३० इन्डेक्स’ सञ्चालनका लागि उपयुक्त समय छैन भनेपछि यो फाइल रोकिएको छ,’ उनले बैंकिङ्ग समाचारसँग भने।

‘नेप्से ३० सञ्चालनमा ल्याउन किन उपयुक्त समय छैन ? सञ्चालक समितिले यस विषयमा कहिले निर्णय गर्छ? भन्ने प्रश्नको जवाफ नेप्सेसँग पनि छैन,’ उनले थपे। तर, नेप्से ३० सञ्चालनमा ल्याउन नेप्से नै अग्रसर छैन। यसले पूँजी बजारको सुधारका लागि पहिलो दस्तामा रहेर काम गर्नुपर्ने नेप्से नै आलटाल गरिरहेको देखिन्छ।
नेप्सेको २०८० भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले नेप्से ३० को सञ्चालन कार्यविधिको स्वीकृत समेत गरिसकेको छ। नेप्सेले २०८० वैशाख २० मा ‘प्रस्तावित नेप्से ३० इन्डेक्समा राय सुझाव उपलब्ध गराउने बारे’ यस विषयमा एक सूचना जारी गरेको थियो। जसमा प्रस्तावित नेप्से ३० मा समावेश गरिने स्टकको छनोटका आधार, भार अंक गणना गर्ने विधि, कम्पनी छनोटको मापदण्ड, ‘रिब्यालेन्सिग’ को मस्यौदा प्रकाशित समेत गर्याे।
जसमा राय सुझाव आएर कार्यविधि पनि बनिसकेको छ। शेयर विज्ञ निरज गिरीका अनुसार नेप्से ३० सञ्चालनमा आउन नसक्नुको प्रमुख कारण नेप्सेको बोर्डले चासो नदिनु हो। उनले भने ‘यो प्राइभेट सेक्टरको काम भएको भएर यति लामो समयसम्म कार्यान्वयनमा आइसक्थ्यो। सरकारी क्षेत्र भएकाले यो सञ्चालनको कार्य लम्बिएको हो।’

के हो नेप्से ३० ?
नेप्से ३० मा ३० वटा उत्कृष्ट कम्पनीहरू समावेश हुन्छन्। जसमा नेप्सेले तोकेको मापदण्ड पुगेका मध्येबाट पनि उत्कृष्ट ३० कम्पनीको शेयरलाई सामेल गरेर ‘नेप्से ३०’ इन्डेक्सको निर्माण गरेको हो। नेपालको स्टक मार्केट बजार पूँजीकरण भारको सिद्धान्तमा सञ्चालन भएजस्तै नेप्से ३० को परिसूचक गणना गर्दा बजार पूँजीकरण भारको सिद्धान्तमा नै गणना गरिन्छ। नेप्से ३० ‘भ्यालु वेटेड इन्डेक्स फण्ड’मा पर्छ। नेप्से ३० मा ३० वटा कम्पनी समावेश हुन्छन्। यहीकारण, यो ३० उच्च मूल्यवान् कम्पनीको ‘इन्डेक्स फण्ड’ नेप्से हो।
नेप्से ३० लाई ६ वटा क्षेत्रमा वर्गीकरण गरी हरेक क्षेत्रभित्र छुट्टाछुट्टै कम्पनीका आ–आफ्नै समूहमा कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने सङ्गठित संस्थाहरूबाट ८ वटा कम्पनी छनौट गर्ने भनेको छ। जसमा बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत, उत्पादनमूलक र व्यापार तथा सेवा क्षेत्रका उत्कृष्ट ३० कम्पनीहरू पर्छन्।
यो इन्डेक्स गणना गर्नका लागि आधार बजार पुँजीकरण २०७९ पुस ३० गतेको फ्रि–फ्लोट बजार पुँजीकरणलाई लिइने छ। नेप्से ३० मा एक पटक परेका कम्पनीहरू सधैँ त्यही कम्पनी रहँदैन। नेप्से ३० भित्र परेका कम्पनीहरूलाई वर्षमा दुई पटक ‘रिब्यालेन्सिग’ गरिन्छ। यस इन्डेक्सलाई प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार ‘रिब्यालेन्सिग’ गरी कम्पनी थप घट समेत गरिन्छ।
नेप्सेका अनुसार दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले बजारमा तत्काल कारोबारयोग्य शेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकको रुपमा ‘नेप्से ३० इन्डेक्स’ मा रूपान्तरण गर्ने उद्देश्यले यो इन्डेक्स सञ्चालनमा ल्याएको लागेको हो।
के छ नेप्से ३० को मापदण्ड ?
नेप्सेले नेप्से ३० इन्डेक्समा कस्ता कम्पनी सहभागी हुन सक्छन् भनेर मापदण्ड तयार पारिसकेको छ। नेप्सेले नेप्से ३० इन्डेक्समा पर्ने योग्य कम्पनीको ६ वटा बुँदामा मापदण्ड तयार पारेको हो। जसमध्ये पहिलो बुँदामा नेप्से ३० मा सहभागी हुने कम्पनीमा प्रतिशेयर चुक्ता मूल्य भन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको कम्पनी हुनुपर्ने स्पष्ट पारेको छ।
त्यस्तै, अर्को अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको हुनुपर्छ। त्यसैगरी, कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा बढी रहेको हुनुपर्छ। त्यस्तै, कम्तीमा २० हजार बढी शेयरधनीहरू हुनुपर्छ।
त्यसैगरी, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सो भन्दा बढी रकम कारोबार भई दैनिक औसत ५००० कित्ता वा सो भन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको हुनुपर्छ र छैटौँ बुँदामा पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको हुनुपर्ने मापदण्ड छ।






About Us
प्रतिक्रिया