आईपीओ निष्काशनमा कडाई गर्दै सेबोन, पाइपलाइनका ११२ कम्पनीलाई नै पर्नेछ मुस्किल


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओको पाइप लाइनमा ११२ कम्पनी आईपीओ निष्कासनका लागि पर्खाइमा छन्। सेबोनले यी कम्पनीहरूलाई आईपीओ निष्कासनका लागि स्वीकृत दिए लगतै दोस्रो बजारमा आउने छन्। पाइप लाइनमा रहेर २०८० सालदेखि आईपीओ निष्काशनको अनुमति नपाएका कतिपय कम्पनीहरूलाई मुस्किल पर्ने गरी ल्याउन लागेको नयाँ निर्देशिकाको मस्यौदा तयार पारेको छ।

सेबोनले तयार पारेको ड्राफ्ट बेभसाइमा नै राखेर सरोकारवालाहरूको सुझाव नै मागिसकेको छ। कम्पनी घाटामा जान साथ र आम्दानी खुम्चिन साथ दोस्रो बजारमा जाँदै सर्वसाधारणबाट पैसा असुल्ने प्रवृत्ति बढेपछि सेबोनले त्यसलाई व्यवस्थित बनाउने लक्ष्यसहित निर्देशन ल्याउन लागेको हो। जसअनुसार, अबदेखि आईपीओ बिक्री गर्न चाहने कम्पनीले सेबोनले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ। र, त्यसपछि मात्रै आईपीओको अनुमति पाउनेछन्। सेबोनले तयार पारेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’को मास्यौदा जारी गर्दै अबदेखि आईपीओ निष्कासनलाई व्यवस्थित र भरपर्दो बनाउने तयारी गरेको हो। मस्यौदाअनुसार १००रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न चाहने संगठिति संस्थाको प्रतिशेयर नेटवर्थ न्यूनतम १०० रुपैयाँ हुनुपर्नेछ। जसअनुसार १०० रुपैयाँभन्दा न्यून नेटवर्थ भएका कम्पनीहरूलाई आईपीओ निष्कासनका लागि अयोग्य हुनेछन्।

के छ नँया व्यवस्था ?
मस्यौदाअनुसार आईपीओ निष्कासन गर्न चाहने कम्पनीले बोर्डमा निवेदन पेस गर्नु अघि तीन आर्थिक वर्षको लेखा परीक्षण भएको विवरण सार्वजनिक गरेको हुनुपर्नेछ। जबकि यो व्यवस्था यसअघि नै लागू थियो। तर, कार्यान्वयनमा भने समस्या थियो। सेबोनले नयाँ मस्यौदा तयार पार्दै यही विषयलाई थप कडाइ गरेको छ। यससँगै, प्रत्येक वर्ष वार्षिक साधारण सभा समेत गरेको हुनुपर्ने व्यवस्था राखिएको छ।

त्यस्तै, सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोगसम्बन्धी स्पष्ट योजना साधारण सभाबाट स्वीकृत भएको हुनुपर्नेछ। संगठित संस्था वा यसको संस्थापक शेयरधनी, सञ्चालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू यस निर्देशिका बमोजिम योग्य रहेको हुनुपर्नेछ। संगठित संस्था वा यसको संस्थापक शेयरधनी, सञ्चालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू यस निर्देशिका बमोजिम योग्य रहेको हुनुपर्नेछ।

निष्कासन तथा बिक्री प्रबन्धकले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने संगठित संस्थाको यस निर्देशिकामा तोकिएका योग्यताहरू पूरा गरेको सुनिश्चित गरेपछि मात्र निष्कासन तथा बिक्री सम्झौता गर्नुपर्नेछ। त्यसैगरी, प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने, न्यूनतम शेयर संख्या बोर्डले तोके बमोजिम हुनुपर्नेछ। साथै, यस निर्देशिका लागू भएपछि आईपीओ निष्कासनका लागि निवेदन पेस गरेका संगठित संस्थाले बोर्डको स्वीकृति विना आफ्नो पुँजी संरचना परिवर्तन गर्न पाइने छैन।

प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ हुनै पर्ने
सेबोनले आईपीओ निष्कासनका लागि कम्पनीको योग्यतामा थप कडा बनाउने तयारी गरेको छ। मस्यौदाअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न चाहने संगठित संस्थाको प्रतिशेयर नेटवर्क १०० रुपैयाँभन्दा कम हुन नहुने प्रस्ताव गरेको छ। बोर्डले विभिन्न उद्योग तथा क्षेत्रका लागि न्यूनतम खुद सम्पत्ति सम्बन्धी मापदण्ड गर्न सक्ने बोर्डले जनाएको छ। यसअघि सेबोनले प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरूलाई आइपीओ निष्कासनका लागि अनुमति दिएको थिएन भने अब सेबोनले यस नीतिलाई थप कडा गरेको हो।