आईपीओ निष्कासनको तयारीमा हुलास फिनसर्भ, एक वर्षमै दोब्बरभन्दा बढीले बढ्यो नाफा

शेखर गोल्छा अध्यक्ष रहेको कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्दै, ८ अर्बभन्दा बढीको सम्पत्ति र ६ अर्ब १५ करोड बैंक ऋण


काठमाडौं – व्यवसायी शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भ हायर पर्चेज कम्पनी सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा छ। कम्पनीले २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। आईपीओ निष्कासनको प्रक्रिया अघि बढाइरहेको कम्पनीको नाफा, सम्पत्ति र कर्जा कारोबारमा पछिल्लो एक वर्षमा उल्लेख्य वृद्धि देखिएको छ।

कम्पनीको सञ्चालक समिति बैठकले २०८२ मंसिरमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। त्यसपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। प्रस्तावित शेयरको कुल मूल्य ७४ करोड ४६ लाख १३ हजार ७५० रुपैयाँ बराबर छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

सन् २०१२ मा स्थापना भएको हुलास फिनसर्भ हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गैरबैंकिङ्ग वित्तीय संस्था हो। कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन, रिकन्डिसन सवारीसाधन, विद्युतीय सामग्री तथा फर्निचर खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार हालसम्म दुई लाखभन्दा बढी सवारीसाधनमा वित्तीय सुविधा उपलब्ध गराइसकेको छ। देशभर सेवा विस्तार गरेको कम्पनीमा २५० भन्दा बढी कर्मचारी र दुई हजार ५०० भन्दा बढी व्यापारिक साझेदार आबद्ध छन्। कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ छ।

एक वर्षमै नाफा दोब्बरभन्दा बढी
आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीको वित्तीय विवरणमा पछिल्लो एक वर्षमा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले २०८२ असार मसान्तसम्म २१ करोड ६१ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो नाफा नौ करोड ८१ लाख रुपैयाँ मात्रै थियो। यसरी एक वर्षमा कम्पनीको नाफा दोब्बरभन्दा बढी भएको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म २२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस्तै, कम्पनीको कुल सम्पत्ति आठ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल सम्पत्ति तीन अर्ब ५५ करोड रुपैयाँ मात्रै थियो। यसले कम्पनीको व्यवसायको आकार र वित्तीय कारोबारमा तीव्र विस्तार भएको देखाउँछ। तर, सम्पत्तिसँगै दायित्व र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसमेत बढेकाले कम्पनीको वित्तीय जोखिम मूल्यांकन गर्दा यी पक्षलाई पनि ध्यान दिनुपर्ने देखिन्छ।

६ अर्ब १५ करोड बैंक ऋण
हुलास फिनसर्भको व्यवसाय विस्तारसँगै कर्जा तथा सापटीको आकार पनि उल्लेख्य बढेको छ। कम्पनीको कर्जा तथा सापटीको कुल रकम आठ अर्ब दुई करोड ५३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम तीन अर्ब ३३ करोड २४ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको कुल दायित्व ६ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि बढेर ६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो ऋण एक अर्ब ९४ करोड रुपैयाँ मात्रै थियो। यसरी कम्पनीको सम्पत्ति र व्यवसाय विस्तारसँगै बाह्य स्रोतबाट लिइएको ऋणको आकार पनि बढेको छ। हायर पर्चेज कर्जा प्रवाहमा आधारित व्यवसाय भएकाले कम्पनीका लागि ऋण परिचालन, कर्जा असुली र जोखिम व्यवस्थापन महत्वपूर्ण पक्ष हुन्।

प्रतिशेयर आम्दानी ४६.९७ रुपैयाँ
कम्पनीको वित्तीय विवरणअनुसार २०८२ असार मसान्तमा प्रतिसेयर आम्दानी ९ईपीएस० ४६ रुपैयाँ ९७ पैसा छ। त्यस्तै, प्रतिफलसम्बन्धी सूचक रिटर्न अन इक्विटी (आरओई) १५.८१ प्रतिशत छ। नाफामा भएको वृद्धि र प्रतिसेयर आम्दानीको अवस्थाले कम्पनीको आईपीओप्रति लगानीकर्ताको चासो बढाउन सक्ने देखिन्छ। यद्यपि, आईपीओमा लगानी गर्नुअघि कम्पनीको नाफाको स्रोत, कर्जा असुलीको अवस्था, बैंक ऋणको भार र भविष्यको व्यावसायिक सम्भावनासमेत विश्लेषण गर्नुपर्ने हुन्छ।

गोल्छा परिवारको नेतृत्व
हुलास फिनसर्भ हायर पर्चेजको सञ्चालक समितिको अध्यक्षमा व्यवसायी शेखर गोल्छा छन्। गोल्छा ग्रुपका अध्यक्षसमेत रहेका गोल्छाको नेतृत्वमा रहेको कम्पनीको सञ्चालक समितिमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल सदस्यका रूपमा छन्। सवारीसाधन तथा उपभोग्य वस्तुको खरिदमा वित्तीय सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले आगामी दिनमा आफ्नो सेवा र बजार पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। सर्वसाधारणलाई सेयर निष्कासन गरेसँगै कम्पनीको स्वामित्व संरचनामा पनि परिवर्तन आउनेछ।

Skip This