काठमाडौं – सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको मेडिकेयर हस्पिटलको खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ६० करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको हस्पिटलको खुद नाफा १० करोड दुई लाख रुपैयाँ रहेको छ।
अघिल्लो आवमा कम्पनीले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार गत आवमा कम्पनीको खुद नाफा ७६ लाख रुपैयाँले घटेको हो। आम्दानी बढे पनि खर्चको वृद्धिदर उच्च हुँदा नाफामा दबाब परेको देखिन्छ। यद्यपि, कम्पनीको कुल आम्दानी भने बढेको छ। अघिल्लो आवमा ५७ करोड ८० लाख रुपैयाँ रहेको कुल आम्दानी गत आवमा बढेर ६० करोड २२ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो आवको तुलनामा ४.१९ प्रतिशतको वृद्धि हो। आम्दानीको तुलनामा खर्च बढी बढेकाले कम्पनीको सञ्चालन नाफा भने ५.०९ प्रतिशतले घटेको छ।
सम्पत्ति र प्रतिशेयर नेटवर्थ बढ्यो
कम्पनीको वित्तीय विवरणअनुसार गत आवको अन्त्यसम्ममा नेटवर्थ एक अर्ब दुई करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो नेटवर्थ ९८ करोड पाँच लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको नेटवर्थ ५।०३ प्रतिशतले बढेको हो। गत आवमा कम्पनीको स्थिर सम्पत्ति एक अर्ब पाँच करोड ९७ लाख रुपैयाँ र चालू सम्पत्ति २५ करोड ३३ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ पनि बढेको छ। अघिल्लो आवमा दुई सय १७ रुपैयाँ ९१ पैसा रहेको प्रतिशेयर नेटवर्थ गत आवमा ५.०३ प्रतिशतले बढेर दुई सय २८ रुपैयाँ ५५ पैसा पुगेको हो। तर, प्रतिशेयर आम्दानी भने घटेको छ। अघिल्लो आवमा २३ रुपैयाँ ९६ पैसा रहेको प्रतिशेयर आम्दानी गत आवमा एक रुपैयाँ ६९ पैसाले घटेर २२ रुपैयाँ २७ पैसा कायम भएको छ। कम्पनीले आव २०७८/७९ मा एक करोड २७ लाख रुपैयाँ दीर्घकालीन ऋण रहेको विवरण सार्वजनिक गरेको छ तर, त्यसपछिका चार आर्थिक वर्षको दीर्घकालीन ऋणसम्बन्धी विवरण भने उपलब्ध गराएको छैन।
३१।५७ प्रतिशत नगद लाभांश सिफारिस
मेडिकेयर हस्पिटलले गत आवको मुनाफा र सञ्चित रकमबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको गत असोज ७ गते बसेको बैठकले कायम चुक्ता पुँजीको करसहित ३१.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने सिफारिस गरेको हो। उक्त लाभांशको कुल रकम १४ करोड २१ लाख पाँच हजार रुपैयाँ रहेको छ। २०८३ असार मसान्तसम्मको वित्तीय विवरणका आधारमा प्रस्ताव गरिएको लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ११ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले २०८१ पुस २७ गते आईपीओ निष्कासनका लागि बोर्डसमक्ष निवेदन दिएको थियो। सेबोनबाट अनुमति पाएपछि कम्पनीले ११ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । मेडिकेयर हस्पिटल अन्य समूहअन्तर्गत सूचीकृत हुने कम्पनी हो। सेबोनले गत कात्तिक ११ गते आईपीओ निष्कासनको प्रतीक्षामा रहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो। बोर्डको वर्गीकरणअनुसार मेडिकेयर हस्पिटल आईपीओ निष्कासनको पहिलो चरणमा परेको छ।
को को छन् सञ्चालक ?
कम्पनीको वित्तीय विवरणअनुसार आव २०८२/८३ मा सञ्चालक समितिमा डा.प्रदीपकुमार यादव, विनयकुमार श्रेष्ठ, खेमराज लामिछाने, महल सागर श्रेष्ठ, दिनुका पोखरेल र डा.मणिराज पोखरेल छन्। विवरणमा डा.प्रदीपकुमार यादव अध्यक्ष तथा सञ्चालकका रूपमा उल्लेख छन्। उल्लेखित सञ्चालकहरू कम्पनीको २५औँ वार्षिक साधारणसभाबाट चार वर्षका लागि निर्वाचित भएका हुन्।





About Us
प्रतिक्रिया