काठमाडौं – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको उपस्थितिमा साइबर ब्यूरोको कार्यालय सामाखुशीमा शुक्रवार आयोजित कार्यक्रमबीच एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (आइएसीएससी) बाट सेवा प्रारम्भ भएको छ। सो अवसरमा महानिरीक्षक केसीले साइबर, अनलाइन ठगी अहिलेको चुनौतीको रूपमा देखा परिरहेको अवस्थामा त्यसलाई उचित सम्बोधन गर्न त्यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण निकायहरूको आपसी सहयोग, समन्वय र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताए। सबै सम्बन्धित निकायहरूको सहकार्यबाट प्रभावकारी अनुसन्धान हुने विश्वास समेत उनले व्यक्त गरे।
नेपाल सरकार (मन्त्रीस्तर) को २०८३ असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम स्थापना भएको यस केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, वालेट, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य गरी साइबर स्क्याम र ठगीहरूलाई यथाशीघ्र प्रतिकार्य गरी जोखिम घटाउँदै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखेको छ। साइबर ठगी सम्बन्धी उजुरी तथा सूचनाहरूलाई २४ सै घण्टा प्राप्त गर्नका लागि सम्पर्क अधिकृत तोकी १२४७ आकस्मिक फोन नम्बर समेतको व्यवस्था गरिएको छ।
कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, साइबर ब्यूरोका प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक नवीन्द अर्याल, विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू, डिजिटल वालेट र भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरू, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।






About Us
प्रतिक्रिया