काठमाडौं – शेयर बजारलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यले २०७५ पुस ९ गते स्थापना भएको राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) लाई स्थायी लेखा नम्बर (प्यान नम्बर) दिलाउनै ८ वर्ष लाग्यो। एउटा प्यान नम्बरकै अड्कोका कारण रोकिएको यो कोषमा हालसम्म धितोपत्र ब्रोकर कम्पनीहरूको योगदानबाट ११ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ।
लामो पर्खाइपछि कोषले प्यान नम्बर प्राप्त गरिसकेको छ भने सञ्चालनका अन्य कानुनी प्रक्रियाहरू पनि पूरा भएका छन्। अब भने ब्रोकरहरू नेप्सेको अन्तिम निर्णयको पर्खाइमा छन्। यसै सन्दर्भमा राफसाफ कोषको आवश्यकता, सञ्चालनमा भएको ढिलाइ, यसले शेयर बजारमा पार्ने प्रभाव र आगामी योजनाबारे स्टक ब्रोकर्स एसोसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवालसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश:
राफसाफ कोष भनेको के हो? सामान्य लगानीकर्ताले यसलाई कसरी बुझ्ने?
नामले नै स्पष्ट पार्छ, सेटलमेन्ट ग्यारेन्टी फन्ड अर्थात् शेयर कारोबारको राफसाफलाई पूर्ण ग्यारेन्टी (सुरक्षा) दिने कोष। सामान्य भाषामा बुझ्दा, कारोबार भइसकेपछि विभिन्न व्यावहारिक वा प्राविधिक कारणले गर्दा कुनै लगानीकर्ताले ब्रोकरलाई समयमा पैसा बुझाउन सकेनन् भने वा राफसाफमा समस्या आयो भने, यो कोषबाट रकम उपयोग गरी शेयर कारोबारको राफसाफ रोकिन नदिने व्यवस्था मिलाइन्छ। यो बजारको वित्तीय स्थायित्वका लागि बनाइएको एउटा सेफ्टी नेट हो।
यो कोषमा हालसम्म कति रकम जम्मा भएको छ र यसको सञ्चालन ढाँचा कस्तो हुन्छ?
हालसम्म यस कोषमा ब्रोकरहरूको योगदानबाट ११ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ। कोष सञ्चालनको लागि एउटा विशिष्ट सञ्चालन समिति रहने व्यवस्था छ, जसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) र ब्रोकर कम्पनीहरूका प्रतिनिधिहरू सहभागी हुन्छन्। जहाँसम्म रकम संकलनको प्रक्रिया छ, नियमअनुसार धितोपत्र व्यवसायी (ब्रोकर) हरूले आफ्नो खुद सम्पत्ति (नेटवर्थ) को निश्चित प्रतिशत (सुरुवाती वर्षहरूमा ७ प्रतिशतसम्म र पछि क्रमिक रूपमा घट्दै जाने गरी) कन्ट्रीब्युसन गर्दै आएका हुन्।
८ वर्ष अघि नै ल्याउने भनिएको र ११ करोड जम्मा भइसकेको कोष सञ्चालनमा आउन यति धेरै ढिलाइ किन भयो?
यसको मुख्य र एउटै बाधक भनेको कानुनी एवं प्रक्रियागत जटिलता प्यान नम्बर नै थियो। कोषमा जम्मा भएको रकम बैंकमा रहँदा त्यसले ब्याज आम्दानी गर्छ। ब्याज आम्दानी र वित्तीय हिसाबकिताब चुस्त राख्न कोषको आफ्नै प्यान नम्बर अनिवार्य हुन्छ। तर, प्राविधिक एवं कानुनी जटिलताका कारण प्यान पाउनै आठ वर्ष लाग्यो। प्यान नम्बर नहुँदा अन्य काम अघि बढाउन मिल्ने अवस्था थिएन। अहिले प्यान नम्बर प्राप्त भइसकेकाले मुख्य अड्चन फुकेको छ।
भनेपछि अब यो कोष कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ?
अहिले प्यान प्राप्त भइसकेको र अन्य सम्पूर्ण तयारी पूरा भइसकेकाले अब धेरै पर्खिनुपर्दैन, छिट्टै सञ्चालनमा आउँछ। यद्यपि, ठ्याक्कै यही मिति भनेर अहिल्यै तोक्न भने केही अप्ठ्यारो छ, तर ढिलाइ भने अब हुँदैन।
यो कोष आएपछि शेयर कारोबार प्रणालीमा कस्तो सुधार वा परिवर्तन देखिन्छ?
अहिलेको अवस्था हेर्ने हो भने, बजारमा कुनै ब्रोकर वा राफसाफ सदस्यले प्राविधिक वा वित्तीय कारणले राफसाफ गर्न नसक्ने स्थिति आयो भने सिङ्गो सेटलमेन्ट प्रणाली नै ठप्प हुने वा रोकिने जोखिम रहन्छ। राफसाफ कोष सञ्चालनमा आएपछि यस्तो जोखिम अन्त हुन्छ। कुनै सदस्यलाई तत्काल रकम अभाव भएमा कोषबाट सापटी लिएर राफसाफ सम्पन्न गर्न सकिन्छ। यसले समग्र शेयर बजारको राफसाफ प्रणालीलाई सुरक्षित, सुदृढ र विश्वसनीय बनाउँछ।
के यो कोषबाट आम लगानीकर्ताले पनि सोझै रकम वा सापटी सुविधा पाउँछन् ?
पाउँदैनन्। यसमा स्पष्ट हुनुपर्छ। यो लगानीकर्ताले सोझै रकम उपयोग गर्ने वा सापटी लिने कोष होइन। हामी ब्रोकरहरूलाई राफसाफ सदस्य भन्छौँ। यो कोष पूर्ण रूपमा ब्रोकरहरूको राफसाफ प्रयोजनका लागि मात्रै हो। कारोबारका क्रममा कुनै ब्रोकरको बैंक खातामा रकम अपुग भएको खण्डमा मात्र यो कोषबाट रकम निकालेर राफसाफ प्रक्रिया पूरा गरिन्छ। लगानीकर्ताले यसबाट प्रत्यक्ष रकम नपाए पनि उहाँहरूको कारोबार भने कहिल्यै रोकिँदैन, जसको अप्रत्यक्ष फाइदा लगानीकर्तालाई नै पुग्छ।
लामो समयसम्म कोष सञ्चालनमा नआउँदा ब्रोकरहरूलाई कस्तो असर परेको थियो?
११ करोड रुपैयाँभन्दा बढी रकम ब्रोकरहरूकै योगदानबाट जम्मा भएको हो। भोलिका दिनमा कारोबार राफसाफमा कुनै विपत् वा अप्ठ्यारो स्थिति आए सहज होस् भन्ने उद्देश्यले हामीले यो लगानी गरेका थियौं। तर, रकम फ्रिज भएर बस्ने र कोष सञ्चालनमा नआउने हुँदा हामीलाई समस्या र अन्योल भइरहेको थियो। अब भने कानुनी अड्चन फुकेकाले छिट्टै राम्रो परिणाम आउनेमा हामी आशावादी छौं।







About Us
प्रतिक्रिया