काठमाडौं – पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुँजीबजार केन्द्रित भेटघाट र छलफललाई तिव्रता दिइरहेका छन् । उनको यो ‘मुभ’ले बजारमा सकारात्मक प्रभाव समेत देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दिनको अवधिमै १५६ अंकले उकालो लागेको छ । नेप्सेको तथ्यांक अनुसार असार ३० गतेदेखि साउन ५ गतेसम्मको अवधिमा शेयर बजार साढे ५.६६ प्रतिशतले बढेको छ । मूल्य बढेसँगै बजार पुँजीकरणमा समेत उल्लेख्य सुधार देखिएको छ । असार २९ गतेसम्म ४ खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बढेर साउन ४ गतेसम्म ४ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।
साउन १ गते प्रधानमन्त्री बालेन शाहले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई भेटेर शेयर बजारको स्थायित्वका लागि आवश्यक सहजीकरण र लचकता अपनाउन महत्त्वपूर्ण सुझावहरू दिएका थिए । बालेनले मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन आग्रह गरेको सूचना सचिवालयबाट प्रवाह भएको थियो । यसको प्रत्यक्ष प्रभाव स्वरूप सोही दिन बजार ७९.७४ अंकले बढेको थियो ।
त्यस्तै प्रधानमन्त्री बालेनले सेवोनका अध्यक्ष डा. गोपाल भट्ट र नेप्सेका अध्यक्ष अमृत लम्सालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष बैठक राखेका थिए । उक्त बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र कारोबार र शेयर बजारलाई दिगो एवं पारदर्शी बनाउन गर्नुपर्ने कानुनी तथा नीतिगत सुधारका विषयमा छलफल भएको थियो । त्यस्तै, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल र नासा सेक्युरिटिजका सन्दीप जलानलगायतका ब्रोकर प्रतिनिधिहरूका साथै पूर्व नेप्से प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया, अम्बिकाप्रसाद पौडेल र प्रियाराज रेग्मीजस्ता दिग्गज शेयर लगानीकर्ताहरूसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए ।
बैठकमा लगानीकर्ताहरूले प्राथमिक शेयर निष्कासन (आइपीओ) सहज बनाउन, दोस्रो बजारमा माग र आपूर्ति सन्तुलन मिलाउन, बैंक तथा वित्तीय संस्थालाई शेयर बिक्रीमा लगाइएको ६ महिने बन्देज हटाउन र दैनिक कारोबार रकम बढाउने वातावरण बनाउन सुझाव दिएका थिए । शेयर बजारमा संस्थागत लगानी बढाउन प्रधानमन्त्रीले नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका सीईओ महेश्वरलाल श्रेष्ठसँग पनि छलफल गरेका थिए । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला निकायहरूलाई दोस्रो बजारमा थप सक्रिय बनाउनेबारे पनि उक्त भेटमा कुराकानी भएको थियो ।
निजी क्षेत्रका छाता संगठनहरूसँग संवादःनेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रमुख १० भन्दा बढी छाता संगठन र गार्मेन्ट उद्योगीहरूसँग पनि प्रधानमन्त्रीले शृंखलाबद्ध छलफल गरी निजी क्षेत्र र लगानीकर्ताको मनोबल उकास्ने आश्वासन दिएका थिए ।
यसैगरी, नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले गत असार ३० गते मंगलबार पुँजी बजार विकासको मार्गचित्र सार्वजनिक गर्यो । सेवोनका अध्यक्ष डा. गोपाल भट्टले दीर्घकालीन सुधारको लक्ष्य र उद्देश्यहरू समेटिएको १२४ पृष्ठ लामो ‘पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेका थिए । यस कदमले लगानीकर्ताहरूले गुमाएको ‘कन्फिडेन्स’ फर्काएको नेप्सेको पछिल्लो पर्फर्मेन्सले स्पष्ट देखाउँछ ।
राजनीतिक र नीतिगत कदमहरूका साथै असार मसान्त सकिएपछि नयाँ आर्थिक वर्षको सुरुवात र वित्तीय प्रतिवेदन आउने महिना भएकाले साउन लागेपछि बजार बढ्ने लगानीकर्ताहरूमा एउटा बलियो मनोवैज्ञानिक कारण पनि छ । यो समयमा लगानीकर्तामा शेयर बजार बढ्ने आत्मविश्वास जाग्ने भएकाले उनीहरूको ध्यान पुँजी बजारतर्फ खिचिएको जानकारहरू बताउँछन् । लगानीकर्ताको यस्तै मनोवैज्ञानिक कारणले पनि शेयर बजारलाई प्रभावित पारेको हो । किनकि नेपाली शेयर बजारको इतिहासलाई हेर्ने हो भने साउन महिनालाई प्रायः ‘बुलिस’ महिनाको रूपमा लिने गरिन्छ ।
यस विषयमा शेयर बजार लगानीकर्ता संघका अध्यक्ष घनश्याम पाण्डेले शेयरबजार बढ्नुको मुख्य कारण सरकारको लगानीकर्ताप्रतिको हेर्ने दृष्टिकोणमा आएको बदलाव भएको बताएका छन् । उनका अनुसार सरकारको पुँजी बजारप्रतिको सक्रियताले गर्दा नै बजारले केही सकारात्मक गति लिएको हो । अध्यक्ष पाण्डेले भने, ‘असार मसान्तको दबाब कम हुँदै गएको छ, जसले गर्दा साउनदेखि कात्तिकसम्म बजार बढ्ने महिना हो । अब कम्पनीहरूको वित्तीय विवरण र लाभांशहरू स्पष्ट हुन्छन्, त्यसैले यो समयमा बजार बढ्ने नै हो ।’ साथै उनले सेबाेनको पुँजी बजारप्रतिको सकारात्मक कार्ययोजनाले पनि बजारको वृद्धिका लागि एउटा इट्टा थपेको स्पष्ट पारे ।
अर्का शेयर लगानीकर्ता छोटेलाल रौनियारले पनि बालेनले पुँजी बजारलाई प्राथमिकतामा राखेपछि लगानीकर्ताको मनोबल फर्किएको बताएका छन् । सेबाेनले पुँजी बजार विकासका लागि सार्वजनिक गरेको मार्गचित्रका साथै प्रधानमन्त्रीको पुँजी बजार तथा नियामक निकायका व्यक्तिहरूसँगको भेटघाटकै कारण लगानीकर्ताको मनोबल बढेको उनको तर्क छ । उनले भने, ‘सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेको छ । यो कुराले लगानीकर्तामा निकै सकारात्मक सन्देश गएको छ । यसको प्रभाव स्वरूप शेयर बजार बढेको हो ।’
मनोवैज्ञानिक प्रभावले बजार केही समय बढे पनि सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा आउने सुधार नै निर्णायक हुने जानकारहरू बताउँछन् । आर्थिक गतिविधि चलायमान भएर कम्पनीहरूको पर्फमेन्समा सुधार आएपछि शेयर बजारमा स्थायित्व कायम हुने उनीहरूको भनाइ छ ।






About Us
प्रतिक्रिया