सरकारलाई सघाउन भन्दै सरकारी बैंकका अध्यक्षहरुद्वारा राजीनामा


काठमाडौं – सरकारलाई सघाउन भन्दै सरकारी बैंकका अध्यक्षहरुले राजीनामा बुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देव कुमार ढकाल र कृषि विकास बैंकका अध्यक्ष डिम प्रसाद पौडेलले राजीनामा दिएका हुन् ।

उनीहरुले अर्थमन्त्रालय समक्ष राजीनामा पेश गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकबाट राजीनामा दिएका ढकालले सरकारलाई सहयोग गर्नका राजीनामा दिएको बताए । उनले सिमित निकायमा मात्रै पहिले नियुक्त भएका कर्मचारी रहने देखिएपनि सरकारलाई नयाँ नेतृत्व नियुक्त गर्न सहजता प्रदान गर्नका लागि राजीनामा दिएको बताए ।

कृषि विकास बैंकका अन्य सञ्चालकहरुले समेत राजीनामा बुझाएको बुझिएको छ । यता, नेपाल बैंकका भने अध्यक्ष तथा सञ्चालकहरु कसैले पनि हालसम्म राजीनामा दिएका छैनन् । स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका डा. डिल्लीराज शर्मा नेपाल बैंकको अध्यक्षको रुपमा कार्यरत छन् ।

सरकारले अध्यादेशमार्फत् १५९४ जनालाई पदमुक्त गरे पनि नेपाल राष्ट्र बैंक एवं बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई कुनै बाधा पुगेको थिएन ।