लघुवित्त पीडितको चित्कार

लघुवित्तका कर्मचारीले ऋण तिर्न नसके मृगौला बेच भनेपछि..

लघुवित्तका कर्मचारीले ऋण तिर्न नसके मृगौला बेच भनेपछि..


धनुषा–देश विदेशमा कोरोनाको हल्ला व्यापक भइरहेको रहेछ तर पुजालाई थाहा थिएन । धनुषा जिल्लाको विकटमा बस्ने पुजा परियारको सानैमा बिहे भएको थियो । परिवारको आर्थिक अवस्था पनि नाजुक थियो । उनको श्रीमान पनि बिरामी । परिवार सानो थियो । श्रीमान, श्रीमति, एक छोरा र एक छोरी ।

छोरा हुर्किदै गयो । बुबाले काढेको ऋण छोराको थाप्लोमा आयो । छोरालाई विदेश पठाउन पुजासँग पैसा थिएन । उनी पैसाको जोहो कतैबाट हुन्छ कि भन्ने आशामा थिइन् त्यहिँ समयमा उनको आगनमै लघुवित्त संस्था आइपुग्यो । उनले लघुवित्त संस्थाको बारेमा केही सोधखोज समेत पनि नगरि २ लाख ऋण लिइन् र छोरोलाई मलेशिया पठाइन् । अब त छोराले लघुवित्तको पनि ऋण तिर्छ घरको व्यवहार पनि मिलाउँछ पुजा मख्ख थिइन् तर सोचेको सबै कहाँ पुरा हुन सक्छ र पुजाले सोचेको सबै उल्टो भईदियो । ‘जब मेरो बाबु विदेश पुग्यो लकडाउन सुरु भयो । त्यसपछि काम पाएन ।’ उनी भन्छिन्, ‘त्यसपछि त उसलाई आफु बच्न त मुस्किल भयो कहाँबाट पैसा पठाउनु र मैले किस्ता तिर्नु ।’

उनले पहिलोपटक संस्थामा बसेर लिएको ऋण नै त्यहिँ थियो । उनले शुरुमा केही किस्ता गाउँका मानिससँग ऋण लिएर दिइन् । सधै त कसरी मिल्थ्यो र अरुसँग ऋण लिएर मात्रै पनि । उनले त्यो ऋण स्वाबलम्बन लघुवित्तबाट लिएकी थिइन् । उनको ऋणको ब्याज दिन प्रतिदिन बढिरहेको छ । तर आम्दानी भने शुन्य । अहिले उनको छोराको आम्दानी २०÷३० हजार मात्रै छ । श्रीमान कमाउन सक्ने अवस्थामा छैनन् । उनका अनुसार हाल उनको सो ऋण बढेर ५ लाख पुगेको छ । उनी दुखेसो पोख्दै भन्छिन्, ‘लकडाउन भन्दा पहिले मैले तिरेको किस्ताको र बीमाबाट काटेको पैसाको पनि हिसाब छैन ।’

उनले आफ्नो छोराको कमाई नभएकाले लघुवित्त संस्थासँग केही महिनाको समय माग गरिन् । तर संस्थाका प्रतिनिधीबाट उनले चाहेको जस्तो उत्तर आएन । २०७९ सालको माघ महिना थियो । ‘आफ्नै शरिरको मृगौला बेचेर भएपनि ऋण तिर्नु भन्ने जवाफ लघुवित्तका कर्मचारीहरु बाटै आयो । अनि मैले कहाँ बेच्न पाइन्छ भनेर सोध्दा । ढल्केमा भन्नुभयो । म र अनिता मिलेर ढल्केमा मृगौला बेच्ने ठाउँ खोज्दै पुग्यौं । तर हामीले भेटेनौं । त्यसपछि घर फर्केको ।’

उनी सुरुमा स्वाबलम्बन लघुवित्तमा आवद्ध भइन् । उक्त संस्थाको ऋण तिर्न उनी तत्कालिन राष्ट्र उत्थान लघुवित्तमा आवद्ध भइन् । राष्ट्र उत्थान संस्थाको ऋण तिर्न अर्को संस्थामा आवद्ध हुँदै जाँदा हालसम्म १४/१५ वटा संस्थाको सदस्य र ऋणी बन्न पुगेकी छिन् । उनले लघुवित्त संस्थाहरुले आफ्नो बचत भने नभएको भन्दै ऋणमाथि ऋण थपेको गुनासो गरिन् । उनको अहिले ऋण तिर्नुपर्ने संस्था पनि धेरै भएर कुन संस्थामा कति ऋण छ समेत थाहा छैन ।

उनले लघुवित्त संस्था आवद्ध भएको ४ वर्षको अवधिमै १४/१५ वटा संस्थामा सदस्य र ऋणी बन्न पुगेको बताउँछिन् । अहिले लघुवित्त संस्थाका कर्मचारीहरु आएर घरमा ताल्चा लगाउने चेतावनी दिएर जान थालेका छन् । उनले संस्थाका कर्मचारी सँगसँगै गाउँका आफ्नै छिमेकीले पनि ऋण तिर्न टर्चर दिएको बताइन् । उनी आफु आत्महत्या गर्न मात्रै बाँकी रहेको बताउँछिन् । उनी भन्छिन, ‘पैसा छैन भनेर भन्यो भनेपनि, तिमीहरु मर त्यसपछि ऋण मिनाह हुन्छ भन्नुहुन्छ, अब मर्ने त होला नि ।’ उनलाई हिसाब केही पनि आउँदैन । छोरा विदेश गएको ५ वर्ष भयो । फर्केको छैन । उनलाई यत्ति थाहा भयो कि लघुवित्तबाट ऋण पाइन्छ । ‘मलाई केही चलाउन पनि आउँदैन आएको फोन मात्रै उठाउन सक्छु ।’

यता स्वालम्बन लघुवित्त वित्तय संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बहादुर सिंह भने आफ्ना कुनै कर्मचारीले त्यस्तो व्यवहार नगरेको बताउँछन । उनी भन्छन, ‘हामीले कसैलाई मृगौला बेच्न चाहिँ भनेका छैनौं । यदी कुनै स्टाफले भनेको भए त्यस्तो अमानविय कार्य गर्न पाइदैन । हामीले त कर्जा तिर्नुस् मात्रै भन्ने हो ।’ सिंहले आफ्नो आम्दानीको स्रोत हुँदाहुँदै पनि कर्जा तिर्न नचाहनेहरुलाई आफुहरुले अनुरोध मात्रै गर्ने गरेको बताए । उनले आफ्ना कर्मचारीलाई त्यस्तो क्रियाकलाप नगर्न आग्रह गर्दै आएको पनि बताए ।

पछिल्लो २ वर्ष यता लघुवित्त विरुद्धको संघर्ष समिति नै लघुवित्तको विरोधमा लागि परेको छ । समितिले लघुवित्त संस्थाका कर्मचारीले अमानवीय व्यवहार गरेको, लघुवित्त संस्थाहरुले चर्को ब्याजदर असुलेको लगायतका आरोप लगाउँदै आएको छ । त्यससँगै लघुवित्त संस्थाबाट ऋण लिएकाहरुले ऋण मिनाहाको माग राख्दै आफुले तिर्नुपर्ने किस्ता पनि रोकिरहेका छन भने २ वर्ष देखि लगातार रुपमा आन्दोलनमा रहेको लघुवित्त विरुद्धको संघर्ष समितिले यही फागुनदेखि राष्ट्रिय स्तरको आन्दोलन गर्न लागेको बताउँदै आएको छ । हाल लघुवित्तका कर्मचारीले दुःख दिएको भन्ने कुरा पनि व्यापक आईरहेको छ ।