बैंकिङ्ग बहस

‘बिना धितो १० लाखसम्म कर्जाले साना व्यवसायीलाई आत्मविश्वास दिन्छ’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइ सरकार बनेसँगै देशमा स्थिर सरकार गठन भएको छ। राजनीतिक अस्थिरता चिरेर स्थिर सरकार गठन भएपछि यतिबेला लगानीकर्तामा नयाँ आत्मविश्वास पलाएको छ। यस्तै, बैंकहरुमा थुप्रिएको १३ खर्बभन्दा धेरै लगानीयोग्य रकमका कारण ब्याजदर घटेर न्यून बिन्दुमा आइपुगेको छ।

यसबाहेक हालसालै नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै साना तथा मझौला व्यवसायीलाई लक्षित गर्दै १० लाखसम्म कर्जा वितरणका लागि धितो नचाहिने र मोबाइलबाटै वितरण गर्न मिल्ने व्यवस्था ल्याएको छ। जसले बजारलाई र साना व्यवसायीलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

यही र यिनै विषयमा विगत लामो समयदेखि देश तथा विदेशमा सञ्चालित कम्पनीहरूलाई ‘टेक्निकल सर्भिस प्रोभाइड’ गरिरहेको आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशकसँग बैंकिङ्ग बहसमा कुराकानी गरिएको छ। कुराकानीमा नेपालको व्यवसायीक वातावरण, स्थिर सरकारपछि व्यवसायीको मनोबल र आइएमएस सफ्टवेयर लगायतका विषय समेटिएका छन्। कुराकानीको सम्पादित अंश:-

अहिले बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता लगानीयोग्य रकम छ, तर उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह एकदमै सुस्त देखिन्छ। अहिले बैंकिङ्ग क्षेत्रमा १३ खर्बभन्दा धेरै तरलता थुप्रिनुको कारण के होला ?
अहिले बैंकहरुमा १३ खर्बभन्दा धेरै रकम बैंकहरुमा थुप्रिएको छ। यो विगत लामो समयदेखि नै कायम छ। हाल देशमा स्थिर सरकार रहेपनि लगानीकर्तामा आत्मविश्वास फर्किसकेको छैन। एक पटक लगानीकर्ताको आत्मविश्वास फर्केपछि लगानी बढ्न थाल्छ नै। तर, लगानीकर्ताका आधारमा भन्नुपर्दा अहिले हामीलाई पनि थप लगानीको आत्मविश्वास बनिसकेको छैन।हामी सफ्टवेयर भेन्डरकारुपमा सक्रिय रहेको विगतको अनुभवले पनि यतिबेला बजारमा सुस्तता नै देखिन्छ। किनकि, बजारमा हामीलाई भेन्डरकारुपमा विगतमा आउने सम्पर्क र अहिलेको गति घटेको छ। यसलाई छिट्टै सुधार हुने अपेक्षा लिन सकिन्छ।

रास्वपा नेतृत्वको स्थिर सरकार बनेको ३ महिना पुग्न लाग्यो। ब्याजदर न्यून छ। विगतमा यी दुई वटै विषय लगानीकर्ताको प्राथमिकतामा पर्थे। तर, अहिले लगानी चाहिँ हुन सकेको छैन, किन होला?
आत्मविश्वास नै मुख्य विषय हो। फेरी सरकार गठन भएको जम्मा ३ महिना त भयो। एउटा कम्पनी स्थापनका लागि त बर्सौँ लाग्छ। सरकार गठन भएको ३ महिना नै नपुगिसक्दा सबै राम्रो वा सकारात्मक हुन्छ भन्न मिल्दैन। बिस्तारै हुन्छ।

उपभोगको ट्रेन्ड परिवर्तन भइरहेको हो? तपाईँहरू भाटभटेनीको बिलिङ प्रक्रिया पनि सम्हाल्दै हुनुहुन्छ।
उपभोगको ट्रेन्ड त परिवर्तन भएको छैन भन्न पर्ला। अत्यावश्यक वस्तुको माग पहिलाको जति नै वा त्योभन्दा धेरै नै छ। अहिलेको नयाँ पुस्ताले मदिराको खपत घटाएका छन्। तर, खर्चचाहिँ अन्यत्र उस्तै भइरहेको छ। स्वास्थ्यतर्फ खर्च बढेको छ।

आईएमएसले आफूलाई परिभाषित गराउनुपर्दा तपाईँहरू के हो? के–के गर्नुहुन्छ?
आइएमएस सफ्टवेयरले तपाईँहरूलाई गाह्रो परेको काम गर्न सहजीकरण गर्ने हो। बिलिङ र अटोमेसन लगायतका सोलुसन प्रोभाइडर हो। नेपाल राष्ट्र बैंकले हालसालै १० लाख रुपैयाँसम्म मोबाइल बैंकबाटै कर्जाको व्यवस्था गरेको छ। यो साना तथा मझौला उद्योगका लागि पर्ने क्यास फ्लोको समस्यालाई समाधान गर्ने गरी ल्याइएको हो।

लेन्डिङको सहज वातावरण अहिलेसम्म छैन। तर अब चाँहि कारोबारको हिसाबकिताब राम्रोसँग राख्ने कम्पनीले १० लाख रुपैयाँसम्म मोबाइलबाटै कर्जा वितरण हुन्छ। यसको अर्थ अब बिलिङ प्रणालीमा आबद्ध हुने कम्पनीहरूले सहजै लिन पाउँछन्, तपाईँहरूले सहजीकरण गर्ने हो?
अहिलेसम्म कुमारी बैंकसम्म लाइभ नै भइसक्यो र केही कर्जा पनि गइसक्यो। किनभने विगत २ वर्षदेखि यसमा काम गरिरहेको थियौँ। राष्ट्र बैंकले सर्कुलर नल्याएर मात्रै कर्जा प्रवाह नभएको हो। यसका लागि हामीले पनि राष्ट्र बैंकसँग कुरा गरेको थियौँ। १० लाख रुपैयाँसम्मको सहज कर्जा वितरणले धेरै साना उद्यमीलाई सहज हुन्छ। केही महिना डेपुटी गभर्नर नहुँदा यो सर्कुलर ६ महिना ढिला भयो। यसका लागि सफ्टवेयर भेन्डर हामीले कम्पनीहरूको बिलिङ ह्यान्डल गरिरहेका हुन्छौँ। त्यसमध्ये योग्य कम्पनीलाई आइएमएस सफ्टवेयरमार्फत कर्जा लिनका लागि योग्य भएको विषय जानकारी दिन्छौँ र उहाँहरूले ओके गरेपछि बैंकसँग कम्पनीहरूको तथ्यांक शेयर हुन्छ।

तपाईँहरूले त कर्जा लिन सहजीकरण गर्नु हुने नै भयो। तपाईँहरूबाहेक अन्य कम्पनीहरू पनि छन् ? जसले यसरी कर्जा वितरणमा सहजीकरण गरुन् ?
अहिलेसम्म लाइसेन्सिङ नै सुरु भएको छैन। हामीलाई टेक्निकल सर्भिस प्रोभाइडर भनेर वर्गीकरण चाहिँ गरिएको छ। आन्तरिक राजश्व विभागका अनुसार आइएमएस सफ्टवेयरजस्ता दर्ता भएका कम्पनी ११ सयभन्दा बढी छन्।

यो १० लाख रुपैयाँसम्मको सहज कर्जाले बजारलाई चलायमान बनाउन, साना उद्यमीलाई क्यासफ्लोमा सहज बनाउन कस्तो भूमिका खेल्छ?
यो व्यवस्थाले बैंकमा थुप्रिएको १३ खर्ब लगानीयोग्य रकम परिचालन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। आजको दिनमा क्यासफ्लोको समस्या छैन, तर कुनै दिन हामीलाई पनि समस्या परेको तीतो अनुभव छ हामीसँग। व्यवसाय राम्रो हुँदा पनि बैंकहरुले कोल्याट्रल नहुँदा कर्जा दिँदैनन्। त्यसबेलादेखि नै हामीले विना धितो व्यवसायीलाई धितो विनाको कर्जा प्रवाह गर्ने सपना नै थियो।

बिना धितो कर्जा दिँदा प्रवाह भएको कर्जा उठेन भने नि ?
बैंकले कर्जा दिँदा केही जोखिम त हुन्छ नै। त्यसैले बैंक नै चाहिने कारण पनि यही नै हो। उहाँहरूको विगतको इतिहास हेरिन्छ, क्रेडिट स्कोर हेरिन्छ, र कालोसूचीमा रहे नरहेको पनि हेरिन्छ। यी व्यवस्था हेरेर बैंकहरुले निर्णय लिन्छन् र त्यसका लागि हामी सिफारिस गर्छौँ।