अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग ठगीः कसरी गायब भयो नेपाल एसबिआई बैंकको १ करोड ५८ लाख रुपैयाँ ? किन प्रक्राउ परे ड्रागन इन्भेस्टमेन्टका सञ्चालक ? 

अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग ठगीः कसरी गायब भयो नेपाल एसबिआई बैंकको १ करोड ५८ लाख रुपैयाँ ? किन प्रक्राउ परे ड्रागन इन्भेस्टमेन्टका सञ्चालक ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा काठमाडौंको ठमेलबाट ड्रागन इन्भेस्मेन्ट प्रालिका सञ्चालक किसनराज सिंहलाई पक्राउ गरी अनुसन्धान बढाएको छ । प्रहरीले उनलाई\"\"  म्यानुअल पिओएस मेसिनबाट भएको एक ठगी घटनामा संलग्न भएको र नेपाल एसबिआई बैंकले दिएको उजुरीका आधारमा समातिएको सिआइबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । उक्त घटनामा नेपाल एसबीआई बैंकको १ करोड ५८ लाख रुपैयाँ गुमेको बताइएको छ । 

प्रहरीका अनुसार प्वाइन्ट अफ सेल्स (पोज मेसिन) बाट हुने भुक्तानीमा ठगी भएको पक्राउ परेका सिंहलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको  प्रवक्ता अधिकारीले बताए । उनले भने, ‘बैंकले उनीविरुद्ध एक करोड ६८ लाख ८१ हजार ६ सय ३६ रुपैयाँको बिगो दाबी गरेको छ । यस्तो ठगीमा अन्तर्राष्ट्रिय गिरोहको पनि संलग्नता रहेको आशंका गरिए पनि पत्ता लागेको छैन ।’ 

कसरी गायब भयो एसबिआईको रकम ? 

अन्तर्राष्ट्रिय भिसा तथा मास्टर कार्ड कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले ती कम्पनीको नेटवर्कमा आबद्ध हुन नोस्ट्रो खाता खोलेका हुन्छन् । नेपाल एसबिआई बैंकको यस्तो खाता अमेरिकास्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा छ ।  यसरी भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी हुँदा सोही नोस्ट्रो खातामार्फत सम्बन्धित बैंकले रकम पाउँछ । सोही आधारमा सो कारोबारबापतको रकम प्राप्त गरी एसबिआईले आफैँ ग्राहक रहेका सिंहको व्यक्तिगत खातामा सो रकम जम्मा गरिदियो । 

त्यसरी म्यानुअल पिओएस मेसिनबाट भुक्तानी भएको कार्ड युरोपियन बैंकका ग्राहकहरूको थियो । आफूहरूको खाताबाट पैसा चोरी भएको भन्दै उनीहरूले आफ्नो बैंकमा उजुरी गरे । मास्टर कार्डका ७० तथा भिसा कार्डका २४ ग्राहकले उजुरी गरेका थिए । 

उजुरीपछि बैंकले भिसा तथा मास्टर कार्ड कम्पनीलाई त्यसबारे जानकारी गरायो । भिसा र मास्टर कार्डले उजुरीबारे जानकारी गराउँदै यसबारे नेपालको एसबिआई बैंकसँग विवरण माग गर्‍यो । तर, बैंकले त्यसरी भुक्तानी गर्ने व्यक्तिको पासपोर्ट, सिसिक्यामेरा फुटेजलगायत नियमअनुसारको विस्तृत विवरण उपलब्ध गराउन नसकेपछि उसको नोस्ट्रो एकाउन्टबाट एक लाख १५ हजार डलर कटाएर कार्डधनीको रकम चोरिएको ग्राहकको खाता भएका युरोपियन बैंकलाई दिएको थियो । यसबाट नेपालको एसबिआई बैंक पीडित बन्यो ।

सिंहले सम्झौताअनुसार विस्तृत विवरण नराखी भुक्तानी लिएका कारण आफ्नो बैंकलाई समस्या भएको भन्दै एसबिआई सिआइबी पुगेको थियो । गत ७ असारमै उजुरी दर्ता भएकोमा २७ भदौमा सिंहलाई पक्राउ गरी ब्युरोले अनुसन्धान अघि बढाएको थियो । सुरुमा बैंकले उनीसँग सो रकम माग गरेको थियो उनले फिर्ता गर्न नसकेपछि जाहेरी दिएको हो । सिआइबीले बताए अनुसार कुनै अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर उनले ठगी गरेको हुन सक्ने सिआइबी अधिकारी बताउँछन् । 

यता नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नक्कली एटिएम कार्डमार्फत नेपालमा बैंक ठगीका घटना नयाँ नभएको बताउँछन । उनी भन्छन, ‘यो घटनाले एटिएम कार्डको विवरण सुरक्षामा पनि प्रश्न त उठेको छ । आन्तरिक रुपमा हेर्ने हो भने यस्ता मेसिनहरु ठिकै छन । तर यस घटनालाई हेर्ने हो भने कसरी सयौँ ग्राहकको एटिएमको विवरण यस्तो समूहले पायो भन्ने विषयमा प्रस्ट हुन समय लाग्छ ।’  

तर, म्यानुअल पिओएस मेसिनबाट हुने ठगीका घटना भने पहिलोपटक देखिएको सिआइबीका अधिकारी बताउँछन् । एटिएममार्फत ठगीमा विगतमा पनि चिनियाँ तथा पूर्वी युरोपियन देशका नागरिकहरू ठूलो संख्यामा पक्राउ परेका थिए । 

किन प्रक्राउ परे ड्रागन इन्भेस्टमेन्टका सञ्चालक ? 

पक्राउ परेका सिंह विदेशी पर्यटकलाई लक्षित गरी थान्का र मूर्तिलगायतको व्यापार गर्दछन् । गत १० पुसदेखि २५ पुससम्म उनले शंकास्पद रूपमा एक लाख १५ हजार चार सय १६ अमेरिकी डलर बराबरको भुक्तानी म्यानुअल पिओएस मेसिनबाट लिएका थिए । म्यानुअल पिओएस मेसिनबाट भुक्तानी गर्दा भौतिक रूपमा एटिएम कार्ड आवश्यक नहुने हुँदा कार्ड नम्बर, कार्ड म्याद सकिने मिति र कोड नम्बर भए भुक्तानी गर्न मिल्छ । 

यसरी म्यानुअल मेसिनबाट उनले पटकौँ पटक कारोबार गरेको सिआइबीको अनुसन्धानमा देखिएको छ । यस्तो कारोबार गर्दा ग्राहकको पासपोर्टलगायत पहिचान खुल्ने विवरण अनिवार्य हुन्छ । तर, सिंहसँग त्यस्तो कुनै कागजात नै थिएन । उनले पक्राउ परेपछि दुई विदेशी नागरिकलाई आफ्नो पसलबाट त्यसरी म्यानुअल पिओएस मेसिनबाट भुक्तानी दिई सामान खरिद गरेको बताएका छन् । तर, त्यसको प्रमाण भने उनले उपलब्ध गराउन नसक्दा बैंकले उनीमाथि शंकास्पद रुपमा हेर्दै पैसा असुलीका लागि प्रहरीमा उजुरी दिएको हो ।  

म्यानुअल भुक्तानी भनेको के हो ? 

म्यानुअल भुक्तानी भनेका विक्रेताबाट म्यानुअल इनपुट चाहिने कुनै पनि भुक्तानीमा लागू हुन्छ। यदि तपाइँ एक व्यक्तिगत प्वाइन्ट अफ सेल (पिओएस) सञ्चालन गर्नुहुन्छ भने यसको मतलब धेरै लेनदेनहरूलाई म्यानुअल इनपुट चाहिन्छ। नगद लिने र परिवर्तन गणना गर्ने, चेक स्वीकार गर्ने, वा इनभ्वाइसहरू मिलाउने, यी म्यानुअल भुक्तानीका उदाहरणहरू हुन्।