खाना पकाउने ग्यासको एउटै सिलिन्डर सात हजारमा बिक्री, भक्तपुरबाट एक जना पक्राउ


काठमाडौं- उपभोक्तालाई चर्को मूल्यमा एलपी ग्यास बिक्री गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा डेरा गरी बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।

प्रहरीका अनुसार त्वयनाले खाना पकाउने एलपी ग्यासको सिलिण्डर तोकिएको मूल्यभन्दा निकै बढी रकममा बिक्री गर्दै आएको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरीले गरेको अनुगमनका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

उनले उपभोक्तालाई प्रतिवटा सिलिण्डर ७ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। अनुगमनका क्रममा प्रहरीले उनको साथबाट तीन थान एलपी ग्यासका सिलिण्डरसमेत नियन्त्रणमा लिएको छ।