३४ जना जुवाडे पक्राउ, ११ लाख बरामद 


काठमाडौं – प्रहरीले देशभरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका – ५ मासु मार्केटमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका – ५ बसपार्क बस्ने ५५ वर्षीय मोहमद अनिस कुरेसी समेत १५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २ सय ३५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो।

ललितपुरको गोदावरी नगरपालिका– ६ टिकाभैरव भैसेस्थित भैसेडाँडा रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा कोन्ज्योसोम गाउँपालिका – ५ बस्ने ४० वर्षीय केशव घिमिरे समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो। 

यसैगरी ललितपुरको गोदावरी नगरपालिका – ५ लेले चम्पेश्वरी बस्ने ५१ वर्षीय यम कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा यम कुमार समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत चापागाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६ सय ३५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Skip This