नेपाल बैंकले मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ: अर्थमन्त्री वाग्ले


काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेड नेपालको आधुनिक बैंकिङ्ग प्रणालीको जगका रूपमा रहेको बताएका छन्। नेपाल बैंकको ९०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकले आफ्नो नौ दशक लामो यात्रामा मुलुकको आर्थिक तथा वित्तीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन्। उनले नेपाल बैंकले निक्षेप परिचालन, कर्जा प्रवाह, वित्तीय पहुँच विस्तार तथा मुलुकको आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। 

उनले नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको धारणा राखे। उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारलाई  केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। सरकारले अघि सारेको वित्तीय क्षेत्र सुधार रणनीति तथा मार्गचित्रअनुसार नेपाल बैंकजस्तो अग्रणी सरकारी बैंकले उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालन गर्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो। कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यात, उद्योग तथा साना तथा मझौला उद्यममा कर्जा प्रवाह बढाउनुपर्ने उनले बताए।

उनका अनुसार कर्जाको आकारभन्दा त्यसले राष्ट्रिय उत्पादन र रोजगारीमा पुर्‍याएको योगदान महत्त्वपूर्ण हुन्छ। त्यस्तै, संस्थागत सुशासन, वित्तीय अनुशासन र जनविश्वास कायम गर्न पारदर्शिता, जबाफदेहिता, व्यावसायिकता तथा प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उनले बताए। साथै, बैंकिङ्ग क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती सम्बोधन गर्न कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए। 

सरकारी बैंक भएकाले गर्दा सुशासन र व्यवसायीक कार्य सम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्ने उनको धारणा रहेको छ। यसैगरी, डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरणलाई बैंकले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। ग्राहकको अपेक्षाअनुसार सरल, सुरक्षित र प्रविधिमैत्री बैंकिङ्ग सेवा विस्तार गर्दै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनले बताए। 

साथै, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने उनले उल्लेख गरे। सरकार र अर्थमन्त्रालयले बैंकिङ्ग क्षेत्रको सुधार तथा संस्थागत सबलीकरण र स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न प्रतिबद्ध रहेको उनले बताए।

Skip This