गभर्नर पौडेललाई ग्लोबल फाइनान्सको ‘बी’ ग्रेड


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ को वार्षिक मूल्यांकनमा ‘बी’ ग्रेड प्राप्त गरेका छन्। ग्लोबल फाइनान्सले सार्वजनिक गरेको ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड्स ’ मा गभर्नर पौडेललाई उक्त ग्रेड प्रदान गरिएको हो।

बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउँदै मूल्यवृद्धि नियन्त्रणमा राख्न सक्नुलाई उक्त पत्रिकाले गभर्नर पौडेलको मुख्य सफलता मानेको छ। वैदेशिक रोजगारीबाट आउने विप्रेषणको बलियो प्रवाहले गत जुन महिनामा नेपालको विदेशी विनिमय सञ्चिति २४ अर्ब अमेरिकी डलर नाघेर कीर्तिमानी उचाइमा पुगेको थियो। पौडेलको सुरुवाती कार्यकालमा मुद्रास्फीति १ देखि १.५ प्रतिशतसम्म झरेको थियो। पछि करिब ५ प्रतिशतसम्म पुगे पनि लक्ष्यभित्रै सीमित रहेको प्रतिवेदनमा उल्लेख छ।

ग्लोबल फाइनान्सले आगामी दिनमा वित्तीय क्षेत्रको सुपरिवेक्षण क्षमता सुदृढ पार्नु र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु गभर्नर पौडेलको प्रमुख प्राथमिकता हुनुपर्ने औंल्याएको छ।

ग्लोबल फाइनान्सले हरेक वर्ष विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। मौद्रिक नीति सञ्चालन, मुद्रास्फीति नियन्त्रण, वित्तीय प्रणालीको सुपरिवेक्षण, पारदर्शिता, राजनीतिक स्वायत्तता र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा खेलेको भूमिकाका आधारमा गभर्नरहरूले ‘ए प्लस’ (उत्कृष्ट) देखि ‘एफ’ (सबैभन्दा कमजोर) सम्मको ग्रेड पाउँदै आएका छन्।

Skip This