काठमाडौं – इसेवाको नाम र लोगो प्रयोग गरी नक्कली (फेक) पेज बनाएर सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरिएको पाइएको छ। इसेवाको १७औँ वार्षिकोत्सवको अवसरमा भन्दै १ हजार ७ सय रुपैयाँ निःशुल्क उपहार दिने प्रलोभन देखाएर सामाजिक सञ्जाल तथा मेसेन्जरमा शङ्कास्पद लिंक फैलाइएको हो।
फेक पेजमार्फत ठगी गर्ने प्रयास भइरहेको सन्दर्भमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज शर्माले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। उनले उक्त पेज नक्कली रहेको स्पष्ट पार्दै यस्ता भ्रामक पोस्ट तथा शङ्कास्पद लिंकको विश्वासमा नपर्न अपिल गरेका छन्।
उक्त नक्कली पेजमा इसेवाको लोगो र तस्बिर प्रयोग गरी उपहार प्राप्त गर्न लिंक खोल्न आग्रह गरिएको छ। तर, उक्त लिंक इसेवाको आधिकारिक वेबसाइट नभई शङ्कास्पद वेबसाइट रहेको छ।
त्यसैगरी, पोस्टको कमेन्टमा समेत केही प्रयोगकर्ताले आफूले १ हजार ७ सय रुपैयाँ प्राप्त गरेको दाबी गरेका छन्। यसरी उपहार पाएको देखाएर अन्य व्यक्तिलाई समेत विश्वासमा पार्ने प्रयास गरिएको देखिन्छ। यस्ता लिंकमा व्यक्तिगत विवरण, पासवर्ड तथा ओटिपी नराख्न र अपरिचित लिंक नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ। कुनैपनि उपहार तथा अफरमा विश्वास गर्नुअघि आधिकारिक माध्यमबाट पुष्टि गर्न आवश्यक रहेको कम्पनीले जनाएकाे छ।







About Us
प्रतिक्रिया